प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटा नगरपालिका सबैभन्दा कम बेरुजु

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ । महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ । नगरपालिकाको आव २०७६/७७ मा बेरुजु रकम रु ८० लाख ५६ हजार मध्ये ५६ लाख ९९ हजार बेरुजु रकम फर्छ्यौट गरिएको छ ।

नगरपालिकामा शून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम छ । यो प्रदेशका स्थानीय तहमा फर्छ्यौट हुन बाँकी रकममध्ये कम हो । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ ।

कम बेरुजु भएका स्थानीय तहमध्ये शुक्लाफाँटा ३४औँ स्थानमा छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाका अनुसार आव २०७४/७५ मा नगरपालिकामा बेरुजु रकम छ करोड ५४ लाख २४ हजार, आव २०७५/७६ मा दुई करोड ९२ लाख ३५ हजार र आव २०७६/७७ मा ८० लाख ५६ हजार गरी कूल बेरुजु रकम १० करोड २६ लाख १५ हजार रहेको थियो ।

कूल रकममध्ये नगरपालिकाले पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फर्छ्यौट गरेको छ । नगरपालिका यसअघि कार्य सम्पदान मूल्याङ्कनमा देशमै उत्कृष्ट ठहर भएको थियो । कञ्चनपुरका पुर्नवास नगरपालिकामा ४.७६, बेलौरी नगरपालिकामा ५.०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३.०६, बेदकोट नगरपालिकामा १.५०, महाकाली दोधरा चाँदनी नगरपालिमा ११.०४, लालझाडी गाउँपालिकामा १.५१ र बेलडाँडी गाउँपालिमा १.७७ प्रतिशत बेरुजु कायम रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बाजुराको त्रिबेणी नगरपालिकामा १७.६० प्रतिशत बेरुजु कायम छ । संविधानको धारा २४१ अनुसार स्थानीय तहको लेखापरीक्षण नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा महालेखापरीक्षकबाट हुने व्यवस्था छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्