एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

Ad
  • कालोपाटी सम्बाददाता

मोरङ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताउनुभएको छ । विराटनगर-१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले गठबन्धन दलहरुबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँट गरिने जानकारी दिनुभयो ।

अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताउनुभयो । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उहाँले राजनीतिक दलहरुबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गर्नुभयो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष यादवले महन्थ ठाकुर नेतृत्वको दल वर्तमान गठबन्धनमा नरहेकाले सरकारमा सहभागी हुन नसक्ने दाबी गर्नुभयो । उहाँले प्रतिगमनको खतरा रहुञ्जेलसम्म वर्तमान लोकतान्त्रिक गठबन्धन रहने छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत एवं बलियो बनाउने कार्यमा आफ्नो दल सक्रिय रुपमा कार्य गर्ने बताउनुभयो ।

अध्यक्ष यादवले संसद् जोगाउनका लागि पार्टी गठबन्धनमा सहभागी भएको स्पष्ट पार्दै यही गठबन्धनले आगामी निर्वाचन गराउने बताउनुभयो । उहाँले बहुदलीय व्यवस्थामा दल फुट्ने र जुटेन कार्य भइरहने चर्चा गर्दै सम्पूर्ण समाजवादीको केन्द्रको रुपमा जनता समाजवादी पार्टी रहेको विचार व्यक्त गर्नुभयो ।-रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्