स्थानीय तहका प्रशासनिक केन्द्रको भवन निर्माण हुँदै, झण्डै ६० प्रतिशत काम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

खलङ्गा । जुम्लाका स्थानीय तहका प्रशासनिक केन्द्रका भवन निर्माण कार्य तीव्रगतिमा भएका छन् । यहाँका आठ वटै स्थानीय तहले सो कामलाई अगाडि बढाएका छन् । यहाँको तिला गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्यलाई तीव्र बनाएको छ । आउदो दशैँसम्म आफ्नै भवनमा सर्ने गरी निर्माण कार्यलाई तीव्र बनाएको हो ।

तिलाको डुण्डेलीमा निर्माणाधीन अवस्थामा रहेको भवनको निर्माण कार्य झण्डै ६० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ । नमूना र भूकम्प प्रतिरोधि भवन निर्माण कार्य जारी रहेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँले भन्नुभयो, “आउँदो दशैँसम्म गाउँपालिकाको आफ्नै भवन निर्माण भई कार्य सञ्चालनमा आउने छ । भवन निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायीलाई दशैँ अगावै भवन निर्माण गरिसक्न जानकारी गराएको छ ।” दशैँपछि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सक्नेछ ।

गाउँपालिकाको प्रशासनिक केन्द्र महत्वपूर्ण भएकाले आफ्नै पालामा भवन निर्माण भइसक्ने अध्यक्ष योगीले बताउनुभयो । सो गाउँपालिकाको भवन निर्माणको जिम्मेवारी पाएको महत बानियाँ जेभीले समयमै भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरिने जनाएको छ । सो गाउँपालिकाको भवन तीन करोडको लागतमा बन्नेछ । डुडेलीमा दुईवटा भवन निर्माणाधीन अवस्थामा रहेको छ । एउटा भवन सटरसहितको र अर्को भवन प्रशासनिक कामकाजमा प्रयोग गरिने तिला गाउँपालिकाले जनाएको छ । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिकाले पनि आफ्नो प्रशासनिक केन्द्रको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्न लागेको हुनाले नागरिकलाई सेवा प्रवाहमा सहज हुने यहाँका स्थानीय तहका प्रमुख बताउछन् ।

भाडाको घरबाट सेवा दिन असजिलो भएको भन्दै अब आफ्नै प्रशासनिक केन्द्रको भवन निर्माण पश्चत निकै सजिलो हुने सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । यहाँको कनकासुन्दरी र हिमा गाउँपालिकाले अझै प्रशासनिक केन्द्रको टुङ्गो लगाउन सकेका छैन् । सिञ्जा गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्य सुरु गरिसकेको छ । गुठीचौर, तातोपानी र पातारासी गाउँपालिकाले प्रशासनिक केन्द्रको टुङ्गो लगाए पनि भवन निर्माण कार्य थालेका छैनन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्