टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

Ad
  • कालोपाटी सम्बाददाता

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद भट्टराईले टर्की पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ ।

युरोपियन चरा भनेर चिनिँदै आएको टर्कीको मासु र अण्डा दुवैबाट राम्रो आम्दानी हुने भएपछि यसको पालनतर्फ यहाँका युवा आकर्षित हुँदै गएका छन् । स्थानीयवासीले आफ्नो क्षमता अनुरुप १० देखि ७० वटासम्म पाल्न थालेको उहाँले बताउनुभयो । यसको मासु प्रतिकिलो एक हजारमा बिक्री हुने गरेको बताइएको छ । सुरुमा प्रतिचल्ला (टर्कीको बच्चा) ७०० मा खरिद गरेर परीक्षणका रुपमा पाल्न सुरु गरेका भट्टराईले यस व्यवसायबाट राम्रो आम्दानी लिन थालेपछि यसतर्फ आकर्षित भएको बताउनुभयो । सुरु आठ/दश वटा टर्की खरिद गरेर पालन सुरु गरेपछि यसबाट राम्रो आम्दानी भएपछि अहिले यसको सङ्ख्या बढाएर व्यावसायिक रुपमै पालन सुरु गरेको उहाँको भनाइ छ ।

यस्तै मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका मानबहादुर लिम्बूले दुई/तीनवर्ष अघिदेखि नै टर्कीपालन गर्दै आएको बताउनुभयो । दोभान बजारका होटल व्यवसायीसमेत रहनुभएका लिम्बूले ग्राहकबाट माग हुन थालेको र विदेशी पर्यटक समेतले बढी रुचाउने गरेकाले आफैंले टर्कीपालन गर्न थालेको बताउनुभयो । टर्कीपालन सुरु गरेसँगै यसबाट सोचेभन्दा राम्रो फाइदा र सन्तोषजनक आम्दानी पनि भएको उहाँले बताउनुभयो ।

पछिल्लो समय यहाँका युवा टर्की पालन व्यवसायमा आकर्षित हुँदै गएपनि कोरोना भाइरस सङ्क्रमणका कारण यसमा केही कमी आएको स्थानीयवासीको भनाइ छ । चल्ला ल्याउने स्थानमै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि जोखिम रहेकाले ल्याउन नसकिएको हो उनीहरुको दाबी छ । सहज परिस्थिति भएपछि पुनः पाल्ने योजना बनाएको उनीहरुले बताउनुभयो । एकदिने चल्लाको ३५० देखि ४५० सम्म मूल्य पर्ने र ६ महिनापछि खानायोग्य हुने स्थानीयवासीको भनाइ छ । चार महिनापछि महिनामा दुई किलोसम्मको दरले बढ्ने, बोसोरहित हुने र मानिसको हड्डी बलियो बनाउनुका साथै मुटु, मधुमेह, रक्तचापलगायत दीर्घकालीन रोगी सबै प्रकारका बिरामीले खाना मिल्ने भएकाले यसको मासुको माग बढी छ । चराएर, अन्न, घाँस दिएर पाल्न सकिने, भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने यसको विशेषता रहेको बताइएको छ ।

तराईको तुलनामा पहाडमा पालेका टर्कीको मूल्य अझ राम्रो पाइने र यसको मासुको माग बढी रहेकाले मागअनुरुप पूर्ति गर्न नसकिएको लिम्बूले बताउनुभयो । एक सय टर्की पाल्दा ६ महिनामा झन्डै चार लाखसम्म कमाउन सकिने उहाँको भनाइ छ । ए ग्रेड जातको टर्की नौ महिनामा १८ किलोसम्म हुन्छ । झट्ट हेर्दा वन कुखुरा जस्तो देखिने टर्की हेर्नका लागि आकर्षित पक्षी भए पनि अण्डा उत्पादन र मासुकै प्रयोजनका लागि पाल्ने गरेको स्थानीयवासी बताउँछन् । टर्कीको अण्डा प्रतिगोटा रु २५० र मासु प्रतिकिलो एक हजार ३०० सम्ममा खरिदबिक्री हुने गरेको छ । यता मासुमा चिल्लो पदार्थको मात्रा न्यून हुने र यसको उपभोगले स्वास्थ्यलाई फाइदा गर्ने पनि किसानको दाबी छ । -रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्