‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’ : मुख्यमन्त्री पोखरेल

Ad
  • कालोपाटी सम्बाददाता

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ”

जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा उहाँले अदालतको भौतिक संरचनाका साथै जनशक्ति चुस्तदुरुस्त भए न्यायिक प्रक्रिया छिटोछरितो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले शासन व्यवस्थाको प्रत्याभूति गराउने न्यायालयका सुदृढीकरणमा राज्यले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

अदालतको भौतिक सुधार र जग्गा व्यवस्थापनका लागि सक्दो पहल गर्ने मुख्यमन्त्री नेपालीले जानकारीदिनुभयो । जिल्लाका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईले अदालतको वस्तुस्थितिका बारेमा मुख्यमन्त्री नेपालीलाई जानकारी गराउँदै जिल्ला अदालतमा मुद्दाको चाप बढेका अवस्था रहेको बताउनुभयो । उहाँले नयाँ भवन बनाउन जग्गाको खोजी भइरहेको बताउनुभयो ।

जग्गा खरिदका लागि वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा समिति पनि गठन भइसकेको छ । अहिले सर्वोच्च अदालतले भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरेको र जग्गा प्राप्ति भएमा थप बजेट निकासा गराउन सकिने उहाँको भनाइ छ । सो अवसरमा प्रदेशमा प्रमुख सचिव डा दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कुमाल, मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, जिल्ला न्यायाधीशहरु, श्रेस्तेदार, तहसिलदारसहित अदालतका कर्मचारी सहभागी रहेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालले जानकारी दिनुभयो ।

‘ कांग्रेस थप सशक्त’

गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिनुभएको छ । आज आफ्नै निवासमा आयोजित कार्यक्रममा उहाँले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकलाई समृद्धिका बाटोमा डोर्याउने दायित्व कांग्रेसको रहेको जनाउँदै उहाँले यसका लागि युवाहरु अग्रसर हुनुपर्ने भनाइ छ ।

पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र यसपछि हुने प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनलाई आफ्नो पक्षतिर आउनेगरी काम गर्न मुख्यमन्त्री नेपालीले आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्वमेयर भट्टराईको कांग्रेस प्रवेशले पार्टी अझ बलियो हुने बताउनुभयो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायी भट्टराईले सुशासनका लागि व्यवसायीलाई राजनीतिमा आकर्षित गर्नुपर्ने जनाउँदै राजनीतिक नेतृत्वबाट सुशासनको सुरुवात हुनुपर्नेमा जोड दिनुभयो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्