रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

Ad
  • कालोपाटी सम्बाददाता

प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, सोही वडाका १९ वर्षका रोहितकुमार यादवलाई पक्राउ गरी लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट पक्रिएका दुईले सर्लाहीको हरिवन नगरपालिका–१० का २३ वर्षीय विशाल श्रेष्ठलाई बिक्री गर्न ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब निरीक्षक हरि खतिवडाले बताए । उहाँका अनुसार श्रेष्ठलाई भने आइतबार बनेपा नपा–७ बाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएकाबाट डाइजल्याब नामक लागुऔषध सय एम्पुल, फेनेर्गान सय एम्पुल, नाम नखुलेको सय एम्पुल, नोफिन लेखिएको लेबल स्टिकर सय थान, मोबाइल एक र नगद रु नौ हजार बरामद गरिएको प्रहरीले जनाएको छ । प्रतिवादीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरिएको प्रनानि खतिवडाले जानकारी दिए ।

पहिलो चरणको कोरोना भाइरसको सन्त्रासपछि करिब एक वर्ष रोकिएको लागुऔषध तस्करी गत माघ दोस्रोसाता पुनः सक्रिय भएका थिए । दोस्रो लहरको कोरोनाको जोखिम घटिरहेको अवस्थामा हाल लागुऔषध कारोबारी पुनः सक्रिय भएको घटनाले पनि पुष्टि गरेको छ । यस घटनाले लागुऔषध कारोबारी पुनःसक्रिय भएको उनले बताए । उहाँले कारोबारीको खोजीकार्य तीव्ररुपमा गरिने जानकारी दिए । “घटनाले कारोबारी पुनः सक्रिय भएको देखिन्छ, अब हामी विशेष निगरानी गर्छौं”, उनले भने ।

गत माघमा प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ तथा लागुऔषध इन्जेक्सनसहित दुईलाई बिपी राजमार्गस्थित इलाका प्रहरी कार्यालय मङ्गलटारले नै पक्राउ गरेको थियो । काभ्रेको चौँरीदेउराली गाउँपालिका–३ का १९ वर्षीय शम्शेर घिसिङ र सुनसरीको धरान उपमहानगरपालिका–२ का २७ वर्षका अजित कामतलाई पूर्वबाट सो राजमार्ग हुँदै काठमाडाँै आइरहेका अवस्थामा मङ्गलटारमा सवारी जाँचका क्रममा लागुऔषधसहित प्रहरीले पक्रेको हो । प्रहरीले उनीहरुको साथबाट ‘नाइट्राभेट–१०’नामक लागुऔषध २८ पत्ता (८४० ट्याब्लेट), डाइजापान इन्जेक्सन १० थान, बुप्रिनोर्फिन १० थान, फोनारागन १० थान बरामद गरेको थियो ।

तत्कालीन समयमा काभ्रे प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनःसफल भएको थियो । प्रहरीले २०७६ फागुन दोस्रो साता पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याव्लेट बरामद गरेको थियो । उक्त घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको थियो । यसको केही महिनाअघि विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा खान्तलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ का एक युवा र भारतको कानपुरस्थित यूपीका एक युवालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलायो ।

सोही हप्ता आसपास इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ११४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का एक र खोटाङको चिउरीडाँडा नपाका २५ वर्षीय एक युवालाई पक्राउ गरी कारबाही प्रत्रmिया अघि बढाएको थियो ।

त्यसअघि प्रहरीले अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का एक र मोरङको सुनबर्सी नपा–६ घर भएका एक पुरुषलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ गरेको थियो । सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका एक युवा, महोत्तरीको लक्ष्मिनिया गाउँपालिका–३ का एक युवा र एक पुरुषलाई सातपत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको थियो ।

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जेकजाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइयो । प्रहरी प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको छ । उसको तथ्याङ्कअनुसार विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोकर्ताका रुपमा देखिएको छ ।

तराई क्षेत्रबाट विपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । लामो समयपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोबार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ । पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो ।

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेष गरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिएको प्रहरीले जनायो ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा ६६ पक्राउ परेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्