जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जामन्त्री भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका-२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।” औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “देशका विभिन्न भागमा भूक्षयको मार खेप्नुपरेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।”

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौँ उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “भूक्षयपछि आएको बाढी र त्यसले पु¥याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री बेहोर्नुपरेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पु¥याएको छ ।”

उहाँले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वृक्षरोपण गरिएका बिरुवाको राम्रो संरक्षण हुने विश्वास दिलाउँदै खाली स्थानमा वृक्षरोपण गरी आफ्ना बस्तीलाई वातावरणमैत्री बनाउन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षरोपण गरिएका वृक्षको उचित संरक्षण गरिने आश्वासन दिँदै वातारणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षरोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष राजेशकुमार महर्जनले वडा परिसरमा रोपिएका वृक्षको संरक्षण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा इन्द्रायणी उद्यानमा चार दर्जनभन्दा बढी विभिन्न जातका वृक्ष रोपिएका छन् ।रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्