सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण सम्भव हुन्छ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आज काठमाडौमा शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।

उनले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताए । उनले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित गर्नु आवश्यक रहेको र पहुँच नपुगकाहरुलाई प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालतर्फबाट स्वास्थ्यमन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गरे । बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताए । उनले अहिले नेपालमा एक करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको भन्दै आगामी असोज महिनाभित्रमा नै ३३ प्रतिशतलाई खोप लगाउने जानकारी दिए । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेद्रोस अधानोम घेब्रेसियसले कोभिड–१९ महामारीले अझै पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पुर्‍याइरहेको बताए । दक्षिण–पूर्वी क्षेत्रमा गत वैशाखमा सङ्क्रमणको सङ्ख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृत्युको सङ्ख्यामा कमी आएको देख्दा आफूलाई खुसी लागेको बताए ।

“देशपिच्छे र ठाउँपिच्छे फरकफरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र सङ्ख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पताल भरिएको अवस्था छ” उनले भने,“हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनुहुँदैन ।” क्षेत्रीय निर्देशक डा पुनम खेत्रपालले कोभिड-१९ ले हाम्रा स्वास्थ्य प्रणालीलाई ठूलो क्षति पुर्‍याएको बताए । “हामीले स्वास्थ्यमा गुमाएका उपलब्धिलाई पुनःप्राप्त गर्नु छ, क्षमता गुमाएको स्वास्थ्य प्रणालीलाई पुनःनिर्माण गर्नुछ”, उनले भने । यही भदौ २५ गतेसम्म भर्चुअल रुपमा हुने बैठकमा यस क्षेत्रका सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री तथा स्वास्थ्यका उच्च पदाधिकारी, संयुक्त राष्ट्र सङ्घीय निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको छ ।

नेपालले यस सम्मेलनदेखि आगामी एक वर्षका लागि समितिको अध्यक्षका रुपमा कार्य गर्नेछ । बैठकमा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य सङ्गठनका कार्यक्रम, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दामा छलफल गरिने छ ।

यसका साथै नेपालले प्रस्ताव गरेअनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

बैठकमा नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी रहेका छन् । बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगको उन्मूलनलगायतका विषयमा छलफल हुनेछ । यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ ।-रासस

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्