आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

Ad
  • कालोपाटी सम्बाददाता

हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले आफ्ना पितालाई विशेष सम्मान गरी वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । आजको दिनलाइ बुबाको मुख हेर्ने दिन पनि भन्ने गरिन्छ।

आज बिहान उठेर नबोलीकन स्नान गरेमा दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको छ भने ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । ब्राह्मणद्वारा लेराइएको कुश  १२ वर्ष सम्म  प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरु बताउछन्  ।

यसैगरी, आज पितालाइ  आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ भने दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गर्ने गरिन्छ।

गोकर्णेश्वर महादेव मन्दिरमा मेला 

हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ। टाढा–टाढाबाट आएका भक्तजनलाई दर्शन गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिए । सङ्क्रमणका कारण मेला स्थगन गर्ने निर्णय गरिए पनि सबै क्षेत्र खुलेको सूचनाले सोमबारदेखि नै टाढा–टाढाबाट भक्तजन आएका थिए ।

सोमबारदेखि नै मेला स्थगन गर्ने तयारी गरिए पनि गोकर्णेश्वर महादेव मन्दिर छिर्ने सबै नाकामा भक्तजनको भीड बढेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पितृप्रति श्रद्धा प्रकट गर्न दिइएको उनले बताए । बिहान ४ बजेदेखि एक घण्टासम्म प्रहरीले सुरक्षा दिई भक्तजन फर्काउने प्रयास गरेको थियो । प्रयास असफल भएपछि स्वास्थ्य सुरक्षामा असर नगर्ने गरी भक्तजनलाई मन्दिर दर्शन गर्न दिइएको छ ।

दूरी कायम गर्न भीड बढ्न नदिन मन्दिर छिर्ने सबै नाकामा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना जोखिमकाबीच मेला चलाउँदा स्थानीयस्तरमा रोगको सङ्क्रमण बढ्न सक्ने जोखिम भएकाले सजगता अपनाएर मेला चलाइएको हो । भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

बाबु दिवङ्गत भइसकेकाका सन्तति भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गरी सम्झना गर्ने परम्परा छ । आजका दिन गोकर्ण आई श्राद्ध गरेमा २१ कुलसम्मका पितृले मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । पितृ तीर्थधामका नामले समेत परिचित गोकर्णेश्वरमा प्रत्येक वर्ष आजका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्