तुइन काटिएपछि खाद्यान्न अभाव

सशस्त्र प्रहरी
Ad
  • कालोपाटी सम्बाददाता

पहिरोले अहिले जिल्लाका विभिन्न क्षेत्रमा सडक अवरुद्ध भएका छन् । दार्चुला–तिंकर खण्डको पनि विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । यातायात सेवा अवरुद्ध भए पनि दुहु र व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम आवतजावत गर्ने वैकल्पिक बाटो नभएकाले पहिराको जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ ।

यहाँका बासिन्दा तिंकर सडकमै पैदल हिँडेर खलङ्गा पुग्नुपर्ने बाध्यता विगतदेखिकै हो । दुहुका सबै ठाउँका बासिन्दा तिंकर सडक भएरै खलङ्गा जानुपर्छ । “विभिन्न कामले सदरमुकाम नगई हुन्न । तर जोखिम धेरै छ”, व्यासका स्थानीय विशेश्वरप्रसाद बडुले भने , “गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो छ । तिंकर सडकको ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै जोखिम बढेको छ । अहिले यो क्षेत्रमा झोलुङ्गे पुल बगाउनुको साथै तिंकर सडकको ठाउँठाउँमा पहिरो गएपछि झन् समस्या भएको छ ।” माथिबाट ढुङ्गा खस्ने र हतारले हिँड्दा चिप्लिएर लड्ने डर उत्तिकै रहेको सर्वसाधारण बताउँछन् । स्थानीय उत्पादनले नधान्ने भएकाले दैनिक उपभोग्य वस्तु सदरमुकामबाटै ल्याएर पूर्ति गर्नुपर्छ । तर सदरमुकाम आउजाउ गर्न सर्वसाधारणलाई सकस परेको दुहँु गाउँपालिका–३ का रमेशबहादुर बम बताउँछन् ।

“सडक पुगेपछि दुहुँ र व्यासका बासिन्दा मौसमी मात्रै भए पनि राहत पाएका थिए । अहिले विभिन्न ठाउँमा अवरुद्ध हुँदा ढुवानीमा समस्या भएको छ”, उनले भने , “सुरुमा स्थानीय बासिन्दा आफैँले भारी बोकेर काम चलाउँदै आएका थिए । सडक पुगेपछि बानी छुट्यो । अहिले पुनः भारी बोक्नुपर्ने भएपछि समस्या भयो ।” दुहुँ गाउँपालिकाको हिकिला, पीपलचौरी क्षेत्रमा ट्र्याक्टरसमेत नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने गरेको स्थानीय व्यापारी बताउँछन् । व्यासका बासिन्दा विगतमा भारतीय बाटो हुँदै तुइनको माध्यमबाट आवतजावत गर्थे ।

अहिले गत साउन १५ गते भारतीय एसएसबीले तुइन काटेपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ । “नेपालतिर बाटो भएर आउन दुहुँसम्म पनि बाटो छैन । हिँडेर जान दुई दिन हिँड्नुपर्छ”, दानसिंह कार्कीले भने । दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । व्यास गाउँपालिकाको मालमा सोमबार ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिए । बीस–बीस क्विन्टलका दरले मालमा खाद्यान्न ढुुवानी भएको थियो । गत साउन १५ गतेदेखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यस क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।

भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिँदा मालका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुनसकेको छैन । नेपालतिर सडकको विकल्प नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो । व्यासका लागि खाद्य संस्थानले पनि चामल ढुवानी गर्न बोलपत्र आह्वान गरेको छ । व्यास–१, २ र ३ का लागि ६०० क्विन्टल खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरेको हो । यो क्षेत्रमा खाद्यान्न ढुवानी गर्न रु एक करोड बजेट विनियोजन गरिएको छ । यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढीपहिरापछि गाउँमा खाद्यान्न अभाव हुन नदिन १०० क्विन्टल खाद्यान्न, तीन क्विन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकोप्टरमार्फत ढुवानी गरिने जोशीले जानकारी दिए । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २० क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । सम्बन्धित गाउँपालिकाको व्यवस्थापनमा गृह मन्त्रालयले हेलिकोप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकोप्टर दार्चुला पुगेको छ । सदरमुकाम खलङ्गास्थित नेपाली सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्