कोदालोले कोरेको बाटो अब कालोपत्रे हुने, स्थानिय हर्षित

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा । कहालीलाग्दो पहाडमा गोरेटो बाटो मात्रै थियो । भारी बोकेका भरिया, बच्चा बोकेका आमा र बिरामी बोकेका सुसारे सबैको बाध्यता साँघुरो बाटोमा घुँडा टेकेरै भए पनि ताराखोला पुग्नुपर्ने बाध्यता थियो ।

ताराखोला गाउँपालिकामा राज्यको ध्यान पुग्न सकेको थिएन । ताराखोला किनारको बाटो होस् वा रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा हुँदै रुमफेदी म्याग्दी पुग्ने गोरेटोको यात्रा कष्टकर थियो । सदरमुकामबाट पश्चिममा पर्ने ढोरपाटन र दक्षिणको बरेङ पुग्ने सडक एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको थियो । ताराखोला ति दुवै सडकको पहुँचमा परेन ।

‘‘आफ्नो गाउँ आफैँ बनाऔं भन्ने उद्देश्यका साथ हामीले कुटो कोदालोमा भरमा बाटो खन्यौँ, रिजाचोकदेखि अमरभूमि, अर्गल, हिल, तारा र रुमफेदीको बाटो चिउरा र चिया खाएर निर्माण ग¥यौँ,” स्थानीयवासी गोविन्द घर्तीले भन्नुभयो । अठार वर्ष अघि उक्त सडकको रेखा कोरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती २० किलोमिटर सडक निर्माण गर्दा पनि राज्यको ध्यान त्यसतर्फ पुग्न नसकेको बताउनुहुन्छ । “सडक फराकिलो र कालोपत्र होस् भन्ने हाम्रो चाहना थियो,” उहाँले भन्नुभयो । बाइस वर्षपछि स्थानीयवासीको सपना बल्ल पूरा हुँदैछ । हाल रिजाल चोकदेखि ताराखोला गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना, पोखराले तीन वर्षभित्र सक्नेगरी गाउँपालिकासँग सडक कालोपत्रको सम्झौता गरेको छ ।

प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम उक्त सडक कालोपत्र भइरहेको छ । सो आयोजनाका प्रमुख कुमार थापा, भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर राम पराजुली र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैह्रेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार चाँडै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ । स्थानीय, प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सो सडकको कालोपत्र गर्न ७० करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले आयोजनाको कूल बजेटको १० प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ । कालोपत्रपछि ताराखोला पर्यटकीय हब बन्ने स्थानीयवासीको विश्वास छ । सडक निर्माणपछि यहाँको स्थानीय उत्पादनले बजार पाउने छ । ताराखोला पशुपालन, घरेलु उद्योग, कृषि, पर्यटनलगायत सम्भावना भएको ठाउँ हो ।रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्