भोजपुरमा पहिलोपटक रक्त सञ्चार केन्द्र सञ्चालनमा

Ad
  • कालोपाटी सम्बाददाता

भोजपुर । भोजपुर जिल्ला अस्पतालमा पहिलो पटक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाले जिल्ला अस्पतालसँगको समन्वयमा केन्द्र स्थापना गरेको हो ।सङ्घीय सांसद सुदन किरातीले उपलब्ध गराउनुभएको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद विकास कोषको रु ५० लाख सहयोगमा केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरले जनाएको छ । सांसद किरातीले सो रकम उपलब्ध गराएपछि भोजपुर नगरपालिकाले उपकरण खरिद गरेको र केन्द्रमा आवश्यक कर्मचारी पनि नगरपालिकाले व्यवस्था गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरका कार्यक्रम अधिकृत तेज श्रेष्ठले बताउनुभयो ।

अधिकृत श्रेष्ठले भन्नुभयो, “धेरै समयमा अथक प्रयासपछि जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न सफल भएका छौँ । यसले यहाँका स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन निकै सहज भएको छ । यहाँ आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन भने नगरपालिकाले गर्ने जिम्मा लिएको छ ।” विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र ९ब्लड बैंक० नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो । सुत्केरी महिला, दुर्घटना तथा आकस्मिकरुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।

स्थानीयवासी रङ्गमान राईले भन्नुभयो, “जिल्लामा ब्लड बैंक नहुँदा अत्यन्तै समस्या थियो । सेना प्रहरीको भरमा अस्पतालले रगतको व्यवस्था गर्नु पर्ने अवस्था थियो । अकस्मिकरूपमा रगत नपाउँदा कतिपयले अकालमा ज्यान पनि गुमाएको अवस्था छ । कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउँदा बाटोमा ज्यान गएको अवस्था पनि छ । यो स्थापना हामी जिल्लावासीका लागि खुशीको कुरा हो तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ ।”

अस्पताललाई चाहिने रगत यहाँ खपत गर्ने र बढी भएको रगत जिल्लाबाहिरका अस्पतालमा पठाउने गरी तयारी थालिएको रेडक्रसले जनाएको छ । अहिले रक्तदान कार्यक्रममार्फत रगत सङ्कलनको काम भइरहेको कार्यालयको भनाइ छ । सङ्कलित रगत केन्द्रमा २५ दिनसम्म मात्र राख्न सकिने भएकाले अन्य अस्पतलामा रगत आवश्यकता हुँदा पठाउने व्यवस्था मिलाइने बताइएको छ ।

जिल्ला रेडक्रसका सभापति तुलबहादुर सुब्बाले भन्नुभयो, “निकै ठूलो पहलपछि ढिलै भए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ । यो हामी जिल्लावासीका लागि खुशीको कुरा हो । यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ ।”-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्