बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण, पर्यटन  भित्र्याउन सहयोग पुग्ने विश्वास

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा । सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात गण्डकी सुनौलो झुला नामकरण गरिएको छ ।पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गण्डकी गोल्डेन ब्रिज नामकरण गरेको हो । अङ्ग्रजी र नेपाली दुवै भाषाको नाम स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

पुलको नयाँ नामसँगै जिल्लामा पर्यटन भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको उद्घाटन गरेर पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई २५ हजार राशिको पुरस्कारसमेत घोषण गरेको बागलुङ नगरपालिकाले सो पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकामा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्वीकृत भएको हो । उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गर्नुभएको हो । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटरको सो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।-रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्