‘बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व’ : राष्ट्रपति भण्डारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन् ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको राष्ट्रपतिले स्मरण गरेकी छन् । यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारी ,बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै राष्ट्रपतिले यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गरेकी छन् ।

संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयमा उल्लेख्य कार्यहरू हुँदै आएका छन् । बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन उनले सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गरेकी छन् । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्