दिपायल बिमानस्थल पुनः सञ्चालनमा

Ad
  • कालोपाटी सम्बाददाता

दिपायल ।  डोटी कोरोनाका कारण बन्द रहेको दिपायल बिमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ । जिल्लामा कोरोनाको जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले पुनः हवाई सेवा सञ्चालन गरिएको बिमानस्थल कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन् । दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन जहाज सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार गरिएको र निजी क्षेत्रको बिमान कम्पनी समिट एयरले पनि उडान भर्ने धनगढी बिमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए । उनले भने, “आज शनिबारदेखि पुनः जहाज सञ्चालन भएको छ, अब दिपायल धनगढी हवाई उडानले निरन्तरता पाउनेछ ।”

बिमानस्थल पुनः सञ्चालन भएसँगै यहाँ जडान गरिएका सञ्चार उपकरण पनि मर्मत गरिएकोे छ । अठार जनाको सिट क्षमता भएको जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढीका लागि ११ः३० बजे उडान हुने भएको छ । कार्यालयका अनुसार हाललाई दिपायलदेखी धनगढीसम्मको टिकट रु तीन हजार ४०० तोकिएको छ । टिकटका लागि दिपायलस्थित पिपल्लामा रहेको होटल रिभर साइटबाट उपलब्ध गराइने होटल सञ्चालक नन्दनसिंह कार्कीले बताए । उन भने, “दिपायल–धनगढी हप्तामा एक दिन जहाज सञ्चालन भएको छ, टिकटको जिम्मा अहिले मैले लिएको छु ।”

जिल्लाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा नेपाल सरकारले बिमानस्थल कालोपत्र गरिएको थियो । बन्द भएको बिमानस्थल पुनः सञ्चालन भएकाले स्थानीयबासी निकै खुशी भएका पिपल्लका व्यापारी चन्द्रु पाठकले बताए । उनले भने, “ कोरोनाले गर्दा जहाज सञ्चालन बन्द गरिएको थियो, फेरी सञ्चालन भयो, यसले गर्दा यहाँको पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने छ ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने सहमति भएसँगै यहाँका क्षेत्रीय कार्यालय कैलाली सारिएपछि निरास भएका स्थानीयवासी अहिले क्रमिकरुपमा विमानस्थलदेखि अन्य विकासका योजना सञ्चालन हुन थालेकाले खुशी भएका हुन् । विमानस्थलमा नियमित जहाज सञ्चालन भए यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने चेम्वर अफ कमर्सका जिल्लाअध्यक्ष खगेन्द्रबहादुर साउदले बताए । उनले भने, “दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुनेछ, पर्यटक भित्रिए यहाँको विकास हुने निश्चित छ ।”

नियमित जहाज सञ्चालन भए यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदारलगायत क्षेत्रमा पर्यटक ओइरिने उद्योग बाणिज्य सङ्घका जिल्लाअध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, “सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेका ठाउँहरु हुन्, नियमित जहाज सञ्चालन भए यहाँको पर्यटन उद्योग फष्टाउने छ ।”
बिमान सञ्चालन भएसँगै विमानस्थलमा रहेका टर्मिनल भवन तथा एटिसी भवन पुनः निर्माण गर्न माग गरिएको छ । यो बिमानस्थलको धावनमार्ग करिब ४९० मीटर लामो भएकाले एकहजार मिटर बनाउनका लागि स्थानीयवासीले माग गर्दै आएका छन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्