मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाका १५ वटै वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । नगरपालिकाको ६ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएर आफ्नै भवनबाट सेवा दिइरहेका छन् भने बाँकी नौवटा वडामा भने आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको वडा नं २, ४, १०, १४ र १५ मा स्वास्थ्य चौकी तथा वडा नं ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । बाँकी रहेका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य संस्थाका लागि भौतिक संरचना निर्माणको काम अगाडि बढाइएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । नगरपालिकाले सबै नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन भन्दै यसअगाडि नै सबै वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई नियुक्ति गरिसकेको रानाले बताए ।

गत आर्थिक वर्ष २०७७/७८ को चैत २५ गते नौ महिनामा निर्माणसम्पन्न गर्नेगरी नौवटा वडाको भवन निर्माणका लागि चितवनको भरतपुरस्थित न्यौपाने मल्टिप्रपोज कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । नगरपालिकाले प्रतिभवन ४३ लाख २४ हजार ८९५ नबढ्ने गरी ठेक्का सम्झौता आह्वान गरेकामा न्यौपाने मल्टिप्रपोजले प्रतिभवन २४ देखि २७ लाखसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता गरेको छ ।

नगरपालिकाभित्र स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख रानाले बताए । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने तयारीमा नगरपालिका जुटेको भन्दै नगरप्रमुख रानाले नवलपुर स्वास्थ्य चौकी र नयाँबेलाहनी स्वास्थ्य चौकीमा ल्याबसहितको भवनको स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिए ।

नगरपालिकामा रहेका स्वास्थ्य चौकीहरुमा औषधि र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ण रुपमा पूर्ति भइसकेको नगरप्रमुख रानाको भनाइ छ । नगरपालिकाको तीनवटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत सञ्चालनमा छन् ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्