कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

Ad
  • कालोपाटी सम्बाददाता

कोरोना महामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ ।

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले माध्यमिक तहदेखि नै यस्ता विषयलाई प्राथमिकताका साथ पाठ्यक्रममा राखिनुपर्ने बताए ।

साना विद्यार्थीलाई सानैदेखि चिकित्सक, इञ्जीनियरमात्र नभएर कला, संस्कतिका साथै अनुशासन सिकाउने शिक्षको आशा रहेको उहाँको भनाइ थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले बालबालिकालाई चित्रकलामा आकर्षित गर्न कक्षा १ देखि १० सम्मको पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिए ।

एउटा घरमा एउटा चित्रकला राख्ने गरी प्रतिष्ठानले अभियान चलाउन लागेको उहाँको भनाइ थियो । नेपाली कला कमजोर नरहेको उल्लेख गर्दै राजभण्डारीले ठाउँमा लैजान भने नेपाल चुकेको बताए । कलालाई ठाउँमै लैजाने गरी प्रतिष्ठानले काम गरिरहेको उहाँको भनाइ थियो ।

कुण्डलिनी आयुर्वेद केन्द्रका सञ्चालक प्रमोद पौडेलले केन्द्रमा आर्ट ग्यालरी स्थापना गरी पहिलोपटक १५ दिने कला प्रदर्शनी गरिएको जानकारी दिए । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्