कांग्रेसको पालिका अधिवेशन आजदेखि

Ad
  • कालोपाटी सम्बाददाता

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हुदैछ ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ हुन लागेको हो । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त भइनसकेका कारण यहाँको पालिका अधिवेशन असोज १६ गते निर्धारण गरिएको छ । काठमाडौैँको वडा अधिवेशन यही असोज ५ गते प्रारम्भ भएको थियो । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौँका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा शनिबार पालिका अधिवेशन प्रारम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले  जानकारी दिए ।

कांग्रेसका क्रियाशील सदस्यता विवाद नटुङ्गिन बाँकी १३ जिल्लामा भने वडा अधिवेशन पनि प्रारम्भ हुन सकेको छैन । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसको निर्णय छ ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । पार्टी यसअघि महाधिवेशनअन्तर्गत गाउँ÷नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

यसैबीच कांग्रेसले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार उक्त तहहरुमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट कम्तीमा एक दलित सदस्य र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति मध्येबाट एक जना सदस्य थप निर्वाचित हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।

शुक्रबारको पार्टी पदाधिकारी एवं पूर्वपदाधिकारीसहितको छलफलबाट प्रदेश सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार ती तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधि मध्येबाट प्रदेश अधिवेशन प्रतिनिधिमा एक जना दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार माथि उल्लेखित तहमा प्रतिनिधित्व नभएको भएमा क्षेत्रीय प्रतिनिधिमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एक जना दलित र मधेशी वा थारु वा मुस्लिम वा अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिमध्येबाट एक जना थप निर्वाचित हुने व्यवस्था गरिएको छ ।
–––

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्