पीसीआर प्रयोगशाला सञ्चालनपछि तीन जिल्लाबासी लाभान्वित हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

तनहुँ । व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सीचौरमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि तनहुँ र छिमेकीसहित तीन जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् । कोभिड–१९ पीसीआर प्रयोगशाला नहुँदा स्वाब सङ्कलन गरी पोखरा पठाएको रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै तनहुँ, गोरखा र लमजुङका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

उक्त प्रयोगशाला एक करोड ३२ लाख १५ हजार २६८ लागतमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । उनका अनुसार कोभिड अस्पताल निर्माणका लागि नगरपालिकाले एक करोड ५४ लाखको बोलपत्र प्रकाशितसमेत गरिसकेको छ ।

प्रयोगशाला सञ्चालन ल्याएकै स्थानमा रु ५० करोडको लागतमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको नगरपालिका कार्यालयले जनाएको छ । पीसीआर ल्याब सञ्चालनमा ल्याइएसँगै तनहुँ, लमजुङ र गोरखा गरी तीन जिल्लाका जनताको पीसीआर परीक्षणका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यता हटेको वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पच्चीस÷पच्चीस श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएप्छि ल्याब सञ्चालन गर्ने कार्य अघि बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

पीसीआर ल्याब सञ्चालनका लागि सम्पूर्ण मापदण्ड पूरा भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वाब परीक्षणका लागि अनुमति प्रदान पाएसँगै सञ्चालनमा ल्याइएको हो । दुम्सीमा आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर कोभिड अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने र त्यसको नतिजा साढे दुई घण्टामै प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्