स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माण पछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए । चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उनले यसै साताभित्र सरोकार व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिइने बताए ।

“नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दशैँपछि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउने छन्”, नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष थापाले भने, “सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले सुरुका दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यवस्थापन र विकास निर्माणमा केन्द्रीत भयौँ, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरण नै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौं ।”

कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दशैँ अगाडि नै पाठ्यक्रमलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने र दसैँपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताए । उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढङ्गले अगाडि बढाइने जानकारी दिए । नगरपालिकाको शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाले कक्षा १ देखि ५ सम्म ‘हाम्रो सूर्यविनायक’ नाम दिएर पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए । उनका अनुसार पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेषभूषा, व्यक्तित्व, जनसङ्ख्या र प्रमुख धार्मिक सम्पदाका साथै स्थानीय चाडपर्व, बोलीचाली,बाजागाजा, नाच, लोक संस्कृति, धर्म, संस्कार, रहनसहनलाई समेटिएको छ । यसैगरी कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषय पनि पाठ्यक्रममा राखिएको छ ।

आधारभूत कक्षासम्म स्थानीय विषयवस्तु र पहिचानलाई व्यवहारिक शिक्षाको रुपमा लैजाने र कक्षा ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जगेर्ना गर्दै सीप दिने गरी लैजाने लक्ष्य रहेको अधिकृत कोइरालाको भनाइ थियो । सामुदायिक अनुसन्धान केन्द्रका उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रम निर्माणमा प्राविधिक सहयोग गर्नुभएको र पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले विद्यालयका प्रधानाध्यापक र सरोकार निकायलाई स्थानीय शिक्षाबारे जानकारी गराएका थिए ।

स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यन्वयन गर्दै आएका छन् । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वपःको पहिचान’ भाग–१ र २ प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । उक्त पुस्तकमा ख्वपःको संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेल, वेषभूषा, भाषा र लिपी, पर्यटन, विभिन्न व्यक्तित्वका बारेमा चर्चा गरिएको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ मा ‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा÷व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायत विषयवस्तु समेटिएको छ । मध्यपुरथिमि नगरपालिकाले पनि ‘मध्यपुरथिमि म्हसिका’ (मध्यपुर थिमि परिचय) नामक पाठ्यक्रम कार्यान्यनमा ल्याइसकेको छ । सूर्यविनायकले स्थानीय पाठ्यक्रम लागू गरेपछि जिल्लाका चारवटै पालिकामा स्थानीय पाठ्यक्रम हुने भएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्