पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

myagdi
Ad
  • कालोपाटी सम्बाददाता

पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गर्न समस्या भएको हो । स्वास्थ्यचौकीका अहेव लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताए ।

“चार वर्षअघि सुरु भएको भवन निर्माण अझै सकिएको छैन”, उनले भने , “बर्खामा पानी चुहिने जीर्ण भवनमा दुःखकष्टका साथ सेवा दिएका छौँ”, कच्ची भवनका कोठा साँघुरा छन् । करिब २५० घरधुरीले सेवा लिने स्वास्थ्यचौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।

प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । सिङ्गो स्वास्थ्यचौकी तीनवटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेव गौतमले बताए । एक कोठामा प्रशासन र बिरामीको उपचार गर्ने कक्ष राखिएको छ भने एक कोठामा औषधि भण्डारण र अर्कोमा प्रसूतिकक्ष राखिएको छ ।

दैनिक १० जना सेवाग्राही आउने गर्छन् । विभिन्न तहका छ जनाको दरबन्दी भएको स्वास्थ्यचौकीमा हाल कार्यरत तीन जनामध्ये एक जना मासिकाबाहेक अरु दुई जना करारका हुन् । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्यचौकीको भवनले पूर्णता नपाउँदा अलपत्र परेको छ । दुईतले १४ कोठे भवन १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित वल्र्डवाइड मालिका भगवती जेभीले रु एक करोड ७४ लाखमा ठेक्का लिएको थियो ।

भवन छाउने, रङरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबारलगायत काम बाँकी छ । स्थानीय भीम छन्त्यालले सम्बन्धित कार्यालय, निर्माण व्यवसायी र सरोकारवालाको बेवास्ताका कारण भवन निर्माणमा ढिलाइ गरेका बताए । स्थानीय सहायक ठेकेदारहरूले अधकल्चो बनाएर करिब एक वर्ष रोकिएको भवन निर्माणकार्य आगामी चैतभित्र सम्पन्न गर्ने निर्माण व्यवसायी गोपाल भट्टचनले प्रतिबद्धता जनाए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्