दोबिल्ला–फलेवास सडक बन्द, दक्षिण पर्वतवासीलाई सास्ती

Ad
  • कालोपाटी सम्बाददाता

पर्वत । वैकल्पिक सडकको व्यवस्था नभइकन सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि पर्वतको दक्षिणी क्षेत्रका बासिन्दालाई समस्या भएको छ । दोबिल्ला–फलेवास सडकखण्डअन्तर्गत घोइनाउलामा ढलान गर्न आइतबारदेखि सवारी साधान चल्न रोक लगाइएको हो । घोइनाउलामा सडक रोकिँदा देशका विभिन्न स्थानबाट फलेवास हुँदै दक्षिणी क्षेत्रतर्फ जाने सवारी साधानलाई समस्या भएको छ ।

वैकल्पिक सडकका रूपमा रहेको मुडिकुवा मोदीबेनी कुश्मा सडक पहिराले अवरुद्ध छ । अन्य कुनै वैकल्पिक सडक नहुँदा फलेवास हुँदै कुश्मा, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा जाने आउने सवारी साधान चल्न सकेका छैनन् । त्यस्तै दूध तथा तरकारी ढुवानीमा समेत समस्या भएको कृषकको गुनासो छ । कुश्मासम्म आउने जीपले यात्रुलाई सिर्सुवाको पुलमा ल्याएर छाड्ने र गाउँतर्फ जाने यात्रु त्यहीँबाट जीप चढाएर गाउँसम्म जाने गरेका छन् । मुडिकुवाबाट पुलसम्म आउने सडक साँघुरो हुँदा जीप, भ्यानबाहेक ठूला सवारी साधन गुड्न सक्दैनन् ।

वैकल्पिक सडक नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको कुर्घाका सुनिल शर्माले गुनासो गर्नुभयो । फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले वैकल्पिक सडकका रूपमा साइकलचोक-तातोपानी-रुग्दी-चुरी-चितिपानी हुँदै फलेवास जाने सडकलाई प्रयोग गर्न भनिएको बताउनुभयो । उक्त सडक निकै घुमाउँरो भएकाले प्रभावकारी नदेखिएको सवारी चालकले बताएका छन् । घोइनाउलाको सडकको ढलान गर्न असोज १६ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको हो ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्