सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्यालको आतंक, दर्जनौँ व्यक्ति घाइते

Ad
  • कालोपाटी सम्बाददाता

राजीव कुशवाहा सुनसरी, १२ असोज । सुनसरीको देवानगंज गाउँपालिकामा स्यालको आतंक बढेको छ । पछिल्लो समय स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घर पालुवा जनावर घाइते भएका छन् ।
पालिकाका विभिन्न स्थानमा एकासी स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिसहरू, खेलिरहेका बालबालिका र गाई भैँसी र बाख्रा बाख्री माथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।
करिब ५-६ वटा स्यालको समूहले देवानगन्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ साबिक मध्यहर्षाही, देवानगञ्ज, कप्तानगञ्ज, राजगञ्ज सिनुवारीका मानिस र घर पालुवा जनावर स्यालको टोकाईबाट गम्भीर घाइते भएका छन् ।
देवानगंज गाउँपालिका वडा नम्बर–७ की ७० वर्षीय मजिया देवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरे पछि घाइते भएकी छिन् । उनको कोशी अञ्चल अस्पताल बिराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता (कारी) र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका थिए ।
त्यस्तै स्यालकै आक्रमणबाट वडा नम्बर ६ का भिखो मेहता पनि घाइते भएको स्थानीयले बताएका छन् । स्यालको आक्रमणबाट घरपालुवा जनावर पनि आतंकित बनेका छन् । स्थानीय रामकिसुन मेहता, दिपेन यादव, विजय मेहताका घर पालुवा जनावर गाई, भैँसी, गोरू, बाख्रालाई स्यालले टोकेर घाइते बनाएको छ ।
स्याल आतंक बढेपछि देवानगन्ज गाउँपालिका–७ का स्थानीय मुसहरू मेहताले एउटा स्याल मारेका छन् । मेहताले आफुलाई स्यालले टोक्न लागेपछि बेल्चाले हिर्काउँदा स्याल मरेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्