उदयपुरको पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो,

Ad
  • कालोपाटी सम्बाददाता

उदयपुर । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका उदयपुरको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेका छन् । कोरोना सङ्क्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने उदयपुरमा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि गत वर्षको चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थल सुनसान देखिएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द हुन पुगेको थियो । कोरोना भाइरस सङ्क्रमण न्यून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाएपछि यतिखेर उदयपुरमा चहलपहल सुरु हुन थालेको छ ।

कोरोना सङ्क्रमणको बेला पर्यटकको आगमन ठप्प जस्तै हुन पुगेको रौता पोखरी क्षेत्रमा असोज लाग्नासाथ दैनिक सयौंको सङ्ख्यामा रौतामाइको दर्शन गर्न र रौताको रमणीयस्थल घुम्नका लागि पर्यटक आउन सुरु गरेको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी ठकुरीले बताए । जिल्लाको नै ऐतिहासिक र महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको रौता पोखरी तथा पञ्चकन्यादेवीको मन्दिरमा असोजको पहिलो हप्तादेखि दैनिक करिब एक सयभन्दा बढीको सङ्ख्यामा आन्तरिक पर्यटक दर्शन गर्न र घुम्न आउने गरेको रौतापञ्चकन्या मन्दिरका पूजारी गङ्गा राना मगरले बताए ।

कोरोना सङ्क्रमण घट्दै गएपछि रौता पञ्चकन्यामाई देवीको दर्शन र पूजा गर्ने, भाकल पूरा गर्ने र रौता पर्यटकीयस्थल घुम्न आउनेको सङ्ख्या दैनिक वृद्धि हुँदैगएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए । उनका अनुसार अहिले पूजा तथा आराधना र रौता क्षेत्रको रमणीयस्थल घुम्नका लागि जिल्ला बाहेक सप्तरी, सिरहा, मोरङ, सुनसरी, झापा, धनुषा, सिन्धुली र सर्लाहीसम्मका भक्तजन तथा पर्यटक आउने क्रम सुरु भएको हो ।

कोरोना सङ्क्रमण घट्दै गएपछि भदौको अन्तिम हप्तादेखि आठ दशजना पर्यटक आउन सुरु गरेपनि असोज लाग्नासाथ पर्यटकको सङ्ख्या ह्वात्तै बढेर दैनिक सयौंको सङ्ख्यामा पर्यटकको आगमन हुन थालेको रौता पर्यटन होमस्टे समितिका सदस्य कुबेर मगरले बताए । पर्यटकको सङ्ख्यामा विस्तारै वृद्धि हुँदैजान थालेपछि यस क्षेत्रको होमस्टे र होटल पनि विस्तारै सञ्चालन हुन थालेको अर्का होमस्टे सञ्चालक खवीन्द्रराज राईले बताए । उनका अनुसार ५० प्रतिशत भक्तजन मुख्य रौतामाई पञ्चकन्यादेवीको पूजा आरधना गर्न र बाँकी पर्यटक पूजाआराधनाका साथै यो क्षेत्र घुम्नका लागि नै आउने गरेका छन् ।

समुद्री सहतबाट दुई हजार मिटरको उचाइमा रहेको उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पर्यटकीयस्थलबाट सगरमाथा, मनास्लु, लौत्से, आमादोल्मा, कोयु र अरुणबरुण क्षेत्रका आठ वठा हिमशृङ्खला अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।

यस्तै सो क्षेत्रबाट धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरीसहित तराईका हरियो फाँट र सप्तकोशी तथा कमला नदीकोसमेत अवलोकन गर्न सकिने सो गाउँपालिकाका अध्यक्ष खड्काले बताए। रौता क्षेत्रलाई प्रदेश नं। १ कै महत्वपूर्ण पर्यटकीयस्थल निर्माण गर्न वृहत गुरुयोजनासमेत निर्माण गरिएको उनको भनाइ छ ।

जिल्लाको पर्यटकीय क्षेत्र खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । उदयपुरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करोडौँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । सयौँको सङ्ख्यामा सञ्चालित त्यस्ता होटल कोरोनाका कारण पर्यटकको आवागमन बन्द भएपछि लगानीकर्ता चिन्तित बनेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्