पुनःनिर्माण भएन दश अवतार मन्दिर

Ad
  • कालोपाटी सम्बाददाता

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको दश अवतार मन्दिर पुनःनिर्माण सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०७३-७४ देखि प्रारम्भ भएको मन्दिर पुनःनिर्माणको म्याद चार पटक थप्दा पनि सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप्ने तयारी सुरु भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । पुरातत्व विभागले प्राकृतिक÷सानु सुवाल÷एसपी जेभीलाई रु तीन करोड ७५ लाखमा मन्दिर पुनःनिर्माणको ठेक्का दिएको हो । विसं २०७३ साउन ३० गते काम सुरु भएको सो आयोजना २०७५ साउन १५ भित्र सक्ने लक्ष्य थियो । काम नसकिएपछि पहिलोपटक २०७५ साउन १६ देखि २०७६ असार १५ गतेसम्म म्याद थपिएको अड्डाका इञ्जिनीयर सञ्जीवमान श्रेष्ठले जानकारी दिए ।

पहिलो म्यादमा काम नसकिएपछि विभागले आठ महिना अर्थात् २०७६ चैत १५ गतेसम्मको अवधि थप गरेको थियो । दोस्रो पटक म्याद थपिएको अन्तिम समयमा कोरोना महामारी सुरु भएपछि तेस्रो पटक चैत १६ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभन्दा बढी समय दिए पनि निर्माण व्यवसायीले काम सम्पन्न गरेनन् । चौथो पटक गत चैत मसान्तदेखि आगामी असोज ३० गतेसम्मको म्याद थपे पनि काम सकिने छाँटकाँट छैन ।

मन्दिर पुनःनिर्माणको हालसम्म ७५ प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । निर्माण व्यवसायीले पाँचौँ पटक मन्दिर पुनःनिर्माणका लागि आगामी चैत मसान्तसम्मको समय माग गरेको इञ्जिनीयर श्रेष्ठले बताए । तीन निर्माण कम्पनीले संयुक्तरुपमा ठेक्का पारेकामा पहिलो चरणमा प्राकृतिकले काम गरेको थियो । पटकपटक म्याद थप गर्दा पनि प्राकृतिकले काममा प्रगति नगरेपछि तीनै कम्पनीलाई बोलाएर विभागले कालोसूचीमा राख्ने जानकारी गराएको थियो ।

विभागले कालो सूचीमा राख्ने तयारी गरेपछि सानु सुवाल निर्माण कम्पनीले काम गर्न थालेको हो । उक्त निर्माण कम्पनीले राम्रो काम गर्न थालेपछि चैत मसान्तसम्ममा सकिने विश्वास लिएको अड्डाले जनाएको छ । तीनै कम्पनीले संयुक्तरुपमा जैसीदेवल र रसुवाका दुई गुम्बा पुनःनिर्माणको ठेक्का पाएको छ । काठमाडौँ महानगरपालिकाले गरेको ठेक्कामा वसन्तपुर दरबार क्षेत्रकै माजु देगः पुनःनिर्माणको ठेक्का पनि यी तीन कम्पनीले पाएका छन् । एकै वर्षमा एउटै विभागले तीन ठेक्का दिँदा सम्पदा पुनःनिर्माण ढिला भएको स्थानीय राजेश मानन्धरको गुनासो छ ।

दश अवतार मन्दिर पुनःनिर्माणको सुरुआती चरणमा स्थानीयवासीले करिब एक महिना तालाबन्दी गरी काममा अवरोध गरेका थिए । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदा ठेक्काबाट निर्माण नगरी स्थानीयवासी रहेको उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिनुपर्ने माग गरी करिब एक वर्ष तालाबन्दी भएको थियो ।

मन्दिर उपभोक्ता समितिमार्फत् पुनःनिर्माण हुनुपर्छ भन्ने अभियानको नेतृत्व गर्नुभएका मन्दिरको पुजारीसमेत रहनुभएका स्थानीयवासी दीपक श्रेष्ठ इञ्जिनीयरले नियमित अनुगमन गर्ने, तोकिएका समयमा गुणस्तरीयरुपमा मन्दिर पुनःनिर्माण सक्ने प्रतिबद्धता विभागले जनाएपछि काम गर्न दिएको बताउछन् ।

“धेरै समय अवरोध गर्दा पुनःनिर्माणका लागि छुट्याइएको बजेट पनि फ्रिज हुनसक्ने भएकाले प्रतिबद्धताबमोजिम गुणस्तरीय काम समयमै गर्ने शर्तअनुसार काम गर्न दिए पनि काम भएन, पछिल्लो समय आशाअनुसार काम भएकाले मन्दिर पुनःनिर्माणमा सहयोग गरेका छौँ”, उनले भने ।

यही निर्माण कम्पनीले हनुमानढोका दरबार क्षेत्रको नारायण मन्दिर र मच्छेन्द्रबहालस्थित सेतो मच्छेन्द्रनाथको मन्दिर पुनःनिर्माणको ठेक्का पाएको छ । विभागका महानिर्देशक दामोदर गौतम कोरोनाका कारण सरकारले नै पुस मसान्तसम्म पुराना ठेक्काको म्याद थप गर्ने निर्णय गरेअनुसार काम गर्न दिएको बताउछन् । सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार ठेक्का प्रक्रिया पूरा गरेर ती कम्पनीले ठेक्का पाएको उनको भनाइ छ ।

निर्माण व्यवसायीले पछिल्लोपटक पुस मसान्तसम्म कामसक्ने प्रतिबद्धता जनाएकाले अन्तिमपटक म्याद थप हुने विभागले जनाएको छ । त्यस अवधिमा पनि काम नसके कालोसूचीमा राख्नेलगायत कानूनी प्रक्रिया सुरु हुनेछ । पहिलो चरणको ठेक्कामा दश अवतार मन्दिरसम्म पुग्न खुड्किला पुनःनिर्माण छुटेकाले करिब रु २५ लाखको लागतमा त्यो कार्यक्रम पनि निर्माण व्यवसायीलाई थप गरिएको अड्डाका सव इञ्जिनीयर विनोद पौडेलले बताउनुभयो । कूल रु चार करोडको लागतमा दश अवतार मन्दिर पुनःनिर्माण अन्तिम चरणम पुगेको छ । निर्माण व्यवसायीले काठको काम सकेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्