संस्थागत सुत्केरी र गर्भ जाँच गराउने झन् घट्दै

Ad
  • कालोपाटी सम्बाददाता

रुकुमपूर्व । रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो ।

रुकुमपूर्वमा गएको आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा सुत्केरी भएका कूल ६९२ जनामा ५२ प्रतिशत मात्र संस्थागत सुत्केरी भएका छन् । घरमै सुत्केरी हुनेको प्रतिशत लगभग ४८ छ । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ५७१ महिला सुत्केरी भएका थिए । जसमा त्यस वर्ष संस्थागत सुत्केरी हुनेको प्रतिशत ४६ रहेको छ ।

त्यसको अघिल्लो अर्थात् आव २०७५/७६ मा ५८५ जना सुत्केरी भएकामा संस्थागत सुत्केरीको दर ४७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन एवं सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिए। यसमा पनि ५० प्रतिशत दक्ष प्रसूतिकर्मीमार्फत सुत्केरी हुने गरेका छन् भने ५० प्रतिशत अन्य स्वास्थ्यकर्मीमार्फत सुत्केरी हुने गरेका छन् । संस्थागत सुत्केरी हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा सबैभन्दा कम रहेको छ । सूचना अधिकारी गिरीका अनुसार गएको तीन वर्षमा पहिलो वर्ष १२७, दोस्रो वर्ष ९३ जना संस्थागत सुत्केरी भएका छन् ।

यसैगरी भूमे गाउँपालिकामा पहिलो वर्ष २२५, दोस्रो वर्ष २२९ र तेस्रो वर्षमा २४० जना स्वास्थ्य संस्थामा सुत्केरी भएका सूचना अधिकारी गिरीले बताए । सिस्नेमा भने पहिलो वर्ष २३३, दोस्रो वर्ष २४९ जना र तेस्रो वर्षमा ३०४ जना स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् । यसैगरी जिल्लामा गर्भ जाँच गराउनेमा पछिल्ला तीन वर्षमा करिब ४४ मात्र रहेका थिए । सूचना अधिकारी गिरीले गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने ६० प्रतिशत हुने गरेको र चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेको सङ्ख्या भने ४५ प्रतिशतमा झर्ने गरेको बताए ।

भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै नागरिक स्वास्थ्य संस्थाको पहुँचमा नहुनु, अज्ञानता, जनचेतनाको कमीलगायत कारणले जिल्लामा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या नबढ्ने गरेको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ ।-रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्