दाजुङखोला लघुजलविद्युत परियोजना बन्द हुँदा चार सय घरधुरी अन्धकारमा बस्न बाध्य, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन् ।

च्युरीबोटस्थित विद्युत गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तीले बताए । सो परियोजनाको विद्युत च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । विद्युत अभावमा उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने अवस्था आएको छ ।

सर्वसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा विद्युत्बाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ । सहकारीका अध्यक्ष घर्तीले बुटवलबाट अर्को बेरिङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताउए । आर्थिक अभावका कारण नयाँ बेरिङ खरिद र ढुवानी गर्न समस्या भएको उनको भनाइ छ ।
सो परियोजनाको सेवा क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको छैन् । मालिका गाउँपालिका–४ को फूलबारी र गरजरामा मात्र केन्द्रीय लाइनको विद्युत पुगेको छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्