रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ , दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्नुहुन्छ । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उहाँको गोठमा बाँधिएका दुई दुहुना भैँसी उहाँका आम्दानीका स्रोत हुन् ।

दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उहाँको गाउँका किसान उत्साहित छन् । दक्षिण बागलुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू १’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो ।

उहाँजस्तै धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गत असारको १ गते यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरबाट पातीचौरसम्म पुग्यो । असार १ गतेको बाढीपहिराका कारण सडक बन्द भएपछि अहिले यहाँका किसानले गाउँमै दूध बिक्री गर्छन् ।

“यहाँबाट एक क्यान दूध पातीचौरसम्म पु¥याइयो, असारयता बन्द छ”, लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्षसमेत रहनुभएका शर्माले भन्नुभयोे, “अब हाम्रो योजना पोखरा दूध पठाउने हो ।” एक क्यान दूधमा ४० लिटरमात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दूधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको छ । पोखरामा दूध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको भन्दै शर्माले सिधा पोखरा पठाउँदा दूधको मूल्य थप पाइने आशा व्यक्त गर्नुभयो ।

जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दुग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दूध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दूध बजारीकरणमा सहज भएको शर्माले बताउनुभयो । कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् ।

“हामी गुजारामुखी व्यवसायमा थियौँ, अहिले दूधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ”, गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयो, “यो गाउँपालिकाका लागि खुशीको कुरा हो । हाम्रो कार्यकालको महत्वपूर्ण उपलब्धि पनि ।” स्थानीय बजारमा समेत दूधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुईवर्ष यतामात्रै भएको हो । सडकलगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दूध स्थानीय बजारमा बिक्री भइरहेको छ ।

किसानलाई गाउँपालिकाले सहयोग गरेको छ । दूधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताउनुभयो । “हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे”, उहाँले भन्नुभयो, “रोजगारीसमेत सिर्जना हुने गरी काम गरेका समूहलाई सघाइरहेका छौँ ।” किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ ।  –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्