दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती महिलासँग ‘उपाध्यक्ष सन्चो विसन्चो’ कार्यक्रम सुरु

Ad
  • कालोपाटी सम्बाददाता

पर्वत । दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरु गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यस्तो कार्यक्रम सुरु गरिएको हो । आव २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि यो कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका लागि सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी रु पाँच हजार प्रदान गर्ने व्यवस्था गरिएको छ । विपन्न परिवारका महिला तथा बालबालिकालाई दुई पटक रु पाँच÷पाँच हजारका दरले र अन्य महिलालाई एक पटक रु पाँच हजारका दरले रकम दिइने भएको छ । रकमसँगै आवश्यक सामग्रीसमेत सहयोग गरिने जनाइएको छ ।

यो कार्यक्रम गत आइतबार गाउँपालिकाका उपाध्यक्ष जसमती गुरुङले वडा नं ३स्थित बेउलीबासमा शुभारम्भ गर्नुभएको थियो । उक्त वडाका सुत्केरी महिलालाई उहाँले रु पाँच हजारका दरले नगद प्रदान गर्नुभयो । गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए । गाउँपालिकाका सातवटै वडामा यो कार्यक्रम विस्तार गरिने भएको छ । यसबाट प्राय विपन्न परिवारका महिला र बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्