सार्वजनिक जमिनमा सामूहिक खेती

Ad
  • कालोपाटी सम्बाददाता

तलहुँ । व्यास नगरपालिका–१० दुम्सी स्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरुपको बाली लगाउँदै आएको हो ।

सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसङ्ख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेती गर्ने अवसर दिएपछि उनीहरु खुसी भएका छन् । विपन्नको आयआर्जनका लागि वडा कार्यालयले १० वर्षका लागि सो सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएको हो । विगत चार वर्षअघि देखि नै सामूहिक खेती गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो ।

सहकारीले आयआर्जनका लागि करिब रु एक लाखको लागतमा जमिन सम्याएर खेत बनाएपछि खेती गर्न थालेको उहाँले बताउनुभयो । सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्र्याक्टर सहयोग गरेपछि थप उत्साहित भएको सो संस्थाले जनाएको छ ।

चरिचरन बन्द गरी स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारीमार्फत सामूहिक खेतीको प्रयास गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । जसको जग्गा छैन उनीहरुलाई प्राथमिकता दिएर समूह बनाइएको छ । ‘मैले काम पाइनँ, मैले गरी खान पाइनँ’ भन्नेहरुका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएपछि उक्त समस्या हटेको उहाँले बताउनुभयो ।

उक्त स्थानमा रहेको करिब २५ रोपनी सार्वजानिक जग्गा विपन्न समुदायका लागि प्रयोग गर्न दिइएको छ । सहकारीले पराल सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिइने गरिएको छ । केन्द्रले गाईको मल तथा मूत्र सामूहिक खेतीका लागि दिने गरेको छ । स्थानीय गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फस्टाएको र विषादी प्रयोग नगरी अग्र्यानिक उत्पादन गरिएको छ ।

सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएको चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले बताउनुभयो । सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक १५ हजारदेखि ३० हजारसम्म आम्दानी गर्न थालेको उहाँले जानकारी दिनुभयो । संस्थामा ३२६ आबद्ध छन् । आफ्नो जमिन नहुने विपन्नका लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ । हाल १०९ जना सामूहिक खेतीमा आबद्ध भइसकेको सो सहकारीलेले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्