अर्थमन्त्री शर्माको लक्ष्य दोब्बर राजस्व संकलन गर्ने,

Ad
  • कालोपाटी सम्बाददाता

सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य लिएको सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि आयोजना गरिएको कार्यक्रममा बताएका छन् ।

राजस्व बढाउन लगानी पनि बढ्नु पर्ने भन्दै उनले तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अबौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिएको उनको भनाइ छ । राजस्व संकलनसमेत लक्ष्यअनुरुप हुने विश्वास उनको छ ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउनसमेत निर्देशन दिए । उनले चीन सरकारले ठोस रुपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिए ।

‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔं ।’

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वका साथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ । नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका छन् । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द भएता पनि पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्