स्थानीय तहमा कानूनी साक्षरता अभियान सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

बलेवा, उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ ।

कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताउनुभयो । ‘कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूणीकरणमा सहयोग पुग्छ, काम विशेषले आएकाको खर्च पनि जोगिन्छ’’, उहाँले भन्नुभयो, ‘‘यो विषय जनतालाई बुझाउनैपर्ने भएको छ ।’’ लामो समयदेखि बारले यस्ता गतिविधि गरेको थिएन ।

यो अभियानमार्फत बारले सबै पालिकाको न्यायिक समितिलाई समेत जागरुक बनाउन खोजेको अध्यक्ष अखिलनाथ शर्माले बताउनुभयो । ‘‘आफ्नै कार्यक्षेत्रबारे न्यायिक समितिका पदाधिकारी अन्योलमा छन्, अव हामीले सल्लाह दिन खोजेका हौं,’’ उहाँले भन्नुभयोे, ‘‘न्याय निरुपणका लागि अल्मलिएका जनप्रतिनिधिलाई पनि सहज हुनेछ ।’’

स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष नेतृत्वमा न्यायिक समिति छ । उक्त समितिलाई न्याय निरुपणको अधिकार छ । तर पछिल्लो समय अधिकांश समितिले काम गर्न सकेका छैनन् । जनतालाई पनि न्यायिक विश्वास नभएर प्रहरीदेखि अदालतसम्म पुग्ने गरेका छन् । बारले ज्यानसम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भावसम्बन्धी कानूनी साक्षरता दिन थालेको हो । बारले ताराखोला गाउँपालिकामा ८० जनालाई साक्षरता दिइसकेको खड्काले जानकारी दिनुभयो । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित र कार्यविधिसम्बन्धी धेरै विषयमा साक्षरता अभियान चलाउन बारले पाठ्यक्रमसमेत बनाएको हो ।

व्यक्तिगत घटना दर्तादेखि स्थानीय तहको काम कर्तव्य र अधिकार विषयमा पनि पाठ्यक्रम बनाएर विभिन्न कार्यक्रम गर्ने बारले निर्णय गरेको खड्काले जानकारी दिनुभयो । स्थानीय तह गठनपछि बारले कुनैपनि कार्यक्रम गरेको थिएन । कार्यक्रम नगर्दा जनप्रतिनिधि पनि अन्योलमा परेको र जनतामा सचेतना अभियान जान सकेको थिएन । अझै २०७४ सालदेखि लागूभएको नयाँ मुलुकी देवानीसंहिताको व्यवस्थाबारे सर्वसाधारण र जनप्रतिनिधि समेत अन्योलमा थिए । -RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्