हेटौँडामा छठ पर्वको तयारी पूरा

Ad
  • कालोपाटी सम्बाददाता

हेटौँडा ।  वाग्मती प्रदेशको राजधानी हेटौँडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौँडाको राप्ती खोला तथा कर्रा खोलालगायत अन्य खोला नदी र पोखरी लगायतको जलाशयमा छठ पर्वको तयारी पूरा भएको हेटौँडा छठ पूजा समारोह समितिका संयोजक कृष्ण कंशकारले जानकारी दिनुभयो ।

नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्लो केही वर्षदेखि पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । जसअन्तर्गत मकवानपुरको हेटौँडालगायत आसपासका सहर र ग्रामीण क्षेत्रमा छठ पर्व मनाउन थालिएको बताइएको छ ।

संयोजक कंशकारले विगत तीन दिनदेखि छठ घाटको निमार्णलाई तीव्रता दिइएको र छठको घाट सजाउने कार्य पूरा भएको जानकारी दिनुभयो । गत वर्ष कोरोना महामारीका कारण सामान्यरुपमा छठ पर्व मनाइएको बताउँदै यस वर्ष स्वास्थ्य मापदण्डको पालना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने तयारीमा रहेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा छठको घाट तयारीमा जुटेको संयोजक कंशकारले भन्नुभयो । हेटौँडामा रहेको राप्ती खोलामा छठघाट करिब ६०० फिटको दूरीमा निर्माण भएको समितिले जनाएको छ । सो छठको घाटमा एक हजार व्रतालु र ५० हजार श्रद्धालुले अवलोकन र दर्शन गर्ने अनुमान समितिको छ ।

सोमबारदेखि अर्थात् कात्तिक शुक्ल चतुदर्शीदेखि छठ प्रारम्भ भइसकेको छ । छठ पर्वको पूजन सामग्रीको किनमेलका लागि हेटौँडा बजारमा भीड लागेको पाइएको छ । यसका लागि केरा, स्याउ, फलफूल, कागती, अदुुवा, माटोका भाँडाकुँडा, पतौरा, बाँसका सुपली, ढकिया, मिष्टान्न, मैदा, चिनी, सखर, अगरबत्ती, दियो लगायतका पूजन सामग्रीको किनमेल भइरहेको छ –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्