सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि किसान चिन्तितमा

Ad
  • कालोपाटी सम्बाददाता

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् । बीउका लागि र हिउँदमा खानका लागि खाल्डोमा भण्डार गरी राखिएको आलु कुहिएपछि थप समस्या बनाएको सिमकोट गाउँपालिका–५ का किसान माल्ती रोकायाले दुःखेसो गरेका छन् ।

शीतभण्डारका लागि घर नजिकैको बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीयवासी किसान रोकायाले बताए । ६० केजीका नौ बोरा आलु जमिनमा खाल्डो खनेर गाडेको भए पनि कात्तिक पहिलो हप्ता तीन दिनको अविरल वर्षाले पानी पसेर कुहिएपछि त्यत्तिकै फाल्नुपरेको उनले बताएका हुन् । सबै आलु कुहिएपछि खान मात्र नभइ बीउ जोगाउनै मुस्किल भएको छ ।

यसैगरी स्थानीयवासी सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ । बारीमा खाल्डो खनेर गाडेर राखेको हिउँदका लागि तरकारी खाने र बीउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नु परेको उनको भनाइ छ । सिमकोट गाउँपालिका–५ का अधिकांश किसानको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गएको छ ।

आलु भण्डारणका लागि उपयुक्त साधनस्रोत नहुँदा हिउँदमा खाने र बीउका लागि खाडलमा राखिएको आलु नष्ट हुँदा लाखौं मूल्य बराबरको नोक्सानी भएको वडा नं ५ सुन्दर रावतले बताका छन् । उनले भने “हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारण गरिएको आलु बिक्री समेत हुने गथ्र्यो तर यो वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गरेको छ ।” अब अर्को वर्ष बीउका लागि यहाँका किसानलाई थप समस्या निम्तिने उनको भनाइ छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्