माछापालनबाट मनग्य आम्दानी

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आउनु भएको हो ।

दुई बिघा जग्गामध्ये एक बिघा जग्गामा निर्माण गरिएका चारवटा पोखरीमा उनले माछापालन गर्दै आएका छन्। उनका अनुसार तीन वटा पोखरीमा भुरा र एउटा पोखरीमा माछा उत्पादन गरी बेच्ने गरेको छ । विगत तीन वर्षदेखि व्यावसायिक रुपमा माछापालनमा लाग्नुभएका चौधरीले पोखरी निर्माणमा रु तीन लाख खर्च गरेएको छ । माछाका भुरा र दाना खरिदका लागि रु दुई लाख ५० हजार खर्च लाग्ने गरेको छ । यसवर्षको हालसम्म उनले पाँच क्विन्टल माछा रु एक लाख ५० हजारमा बिक्री गरेएका छन्। माछाका भुरा भने रु पाँच लाखको बिक्री भइसकेको छ ।

“मत्यस्यपालन केन्द्र गेटाबाट माछाका ह्याच भुरा ल्याएर आउछौं”, चौधरीले भने , “पोखरीमा केही दिन हुर्काएर फिङ्गर साइजका बनाएर माछापालक किसानलाई बिक्री गर्दैआएका छौं ।” चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । “पहिला आठ नौ वर्षअघिदेखि परम्परागत तरिकाले एउटा पोखरीमा मात्रै माछापालनको कार्य गर्दै आएका थियौं”, उनले भने, “घरमा खानका लागि पनि मुस्किल हुन्थ्यो । माछा हुर्कदैन्थ्यो । केही हुर्के पनि पोखरीमै मर्ने गरेका थिए ।”

माछापालनका आधुनिक तरिका सिकेपछि हाल माछाको उत्पादन बढाउन सकिएको उहाँको भनाइ छ । भुरासमेत हुर्काएर बेच्न थालेपछि आम्दानी चाहेजस्तै हुँदै आएको उहाँले बताए । पहिला माछापालनका लागि परम्परागत रुपमा बनाइएको एउटै पोखरी बाहेक अन्य जग्गामा अन्नबाली लगाउने गरिएको थियो ।

अन्नबालीबाट वर्षमा मुस्किलले रु ३० हजार मूल्य बराबरको मात्रै उत्पादन हुने गरेको चौधरीले बताए । व्यवसायिक रुपमा माछापालन सुरु गरेपछि आम्दानी बढ्दै गएको उनको भनाइ छ । चौधरीले पोखरी बनाइ बाँकी रहेको जग्गामा व्यावसायिक रुपमा आलुखेती गर्दै आएका छन् । कार्डिनल जातको आलुखेती गर्दै आएका चौधरीले प्रतिवर्ष १२० क्विन्टल आलु उत्पादन गर्दै आउनु भएको छ । उत्पादित आलु बिक्री गरेर उहाँले अतिरिक्त आम्दानी हात पार्ने गरेका छन् ।

यसवर्ष बेमौसमी वर्षाका कारण आलु रोप्न पाएका छैनन् । समयमै आलु रोप्न नपाउँदा उत्पादन घटने चिन्ता उनलाई छ । माछाका भुरा र आलु बिक्रीको रकमबाट चौधरीले दुई छोरालाई काठमाडौँमा राखेर उच्च शिक्षा पढाउँदै आएका छन् । माछाका भुरा र आलु बिक्रीको रकमले सिँचाइका लागि बोरिङ, खेत जोत्नका लागि ट्र्याक्टरसमेत खरिद गर्न उहाँले बताए । “भविष्यका लागि केही रकम बैंकमा बचत गर्ने कार्यसमेत हुँदै आएको छ” उनले भने , “जोखिमबाट जोगिनका लागि जीवन बीमा समेत गराएका छौं । आलुखेती र माछाकोसमेत बीमा गर्ने योजना छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्