दूधकोसीमा सुक्खा पहिरो

Ad
  • कालोपाटी सम्बाददाता

ओखलढुङ्गा । दूधकोसी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोसी नदी किनारमा करिब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।

दूधकोसी करिडोर सडकको चुने भन्ने ठाउँ नजिकै सुरु भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताए । उनका अनुसार दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।

एक साताअघिसम्म भीषणरूपमा झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिराबाट झरेको ढुङ्गा, माटो सिधै दूधकोसीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोसी करिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ ।

पहिराका कारण मानेभन्ज्याङ गाउँपालिका–६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिराको शीरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

पहिराबाट झरेको ढुङ्गा, माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए। पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जङ्गल पसेर बग्न थालेको छ । यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको अनुमान गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्