मोफसलमा ट्रमाको उत्कृष्ट अस्पताल बनाउने तयारीमा लामिछाने

Ad
  • कालोपाटी सम्बाददाता

मोफसलमा उपचार पाउन नसकेर काठमाडौँ धाइरहेका बिरामीको पीडा देखेपछि एक चिकित्सकले राजधानी बाहिर अस्पताल खोल्ने अठोट लिए । एक युवाका लागि ३० वर्षे उमेरमा सहरमा अस्पताल खोल्नु आफैँमा चुनौतीपूर्ण थियो । त्यो चुनौती सामना गर्दै डा प्रमोद लामिछानेले भरतपुरमा अस्पताल सुरु गरेरै छोडे ।

लमजुङको राइनास नगरपालिका–८ माझीगाउँमा जन्मिनुभएका डा लामिछानेले काठमाडौँको बीएण्डबी अस्पतालमा उपत्यका बाहिरबाट आउने ठूलो सङ्ख्याका बिरामीको पीडा सुनेपछि भरतपुरमा अस्पताल खोल्ने निधो गरे । भरतपुरकै कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेर काठमाडौँ विश्वविद्यालयबाट अर्थाेपेडिकमा एमडी गरेसँगै उनले बीएण्डबीमा काम थाले ।

कामको दौरानमा मकवानपुरदेखि बुटवलसम्मका दुर्घटनाका धेरै घाइते उपचारका लागि काठमाडौँ नै धाउनुपर्ने बाध्यता देखेपछि उनले यही ठाउँलाई बीचमा पारेर अस्पताल खोलेको बताए । बीएण्डबीमा आठ महिना काम गरेपछि उनि चितवन झरे ।

मध्यम वर्गीय परिवारमा हुर्केका  लामिछानेसँग अठोट र साहस त थियो तर पैसा थिएन । विसं २०६७ कात्तिक १७ गते अस्पताल त दर्ता गरे तर उनीसंग आर्थिक व्यवस्थापन हुन सकेन । विगतलाई सम्झँदै उनलेभने , “परिवारले मात्रै होइन, बैंकले पनि मलाई पत्याएनन् ।” चितवनका सबै बैंकमा परियोजना ऋण प्रस्ताव पेश गरे पनि कसैले ऋण नपात्याएपछि बैनी प्रतिभा ढकालको घर धितोमा राखेर उनले ऋण लिए ।

छोराको तीव्र चाहानाका कारण शिक्षक पेसामा रहेका बुबा कृष्णप्रसाद लामिछानेले दिएको बीउ पूँजीमा बैंकको ऋण थप गरेर अस्पताल सुरु गरे । त्यसो त उनलाई अस्पताल उपकरण खरिद गर्न सप्लायर्सले उधारो पत्याए । यसरी सुरु भएको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उनले रातदिन मिहिनेत गरे ।

पछिल्ला पाँच वर्ष पारिवारिक समस्याका कारण चाहे जति समय दिन नभ्याए पनि अस्पताललाई कहिल्यै पछाडि धकेलिन दिएनन् । यो अवधिमा आफ्नो नेतृत्वमा २० हजार शल्यक्रिया गरेको उनको  भनाइ छ । त्यसो त उनी एक्लैले १५ हजार शल्यक्रिया गरिसकेका छन्  । “२४ घण्टामा मैले १४ वटा शल्यक्रिया र ४० जनाको बहिरङ्ग परीक्षण गरेको छु”, उनले भने  । मिहिनेतकै कारण अस्पताल भाडामा रहेको भवनसमेत खरिद गर्न सफल भएको छ । लामिछानेको पाँच कठ्ठा जमिनमा अस्पताल भवन छ । जहाँ ५० शय्याको ट्रमा अस्पताल सञ्चालनमा छ । अस्पतालमा तीन अर्थाेपेडिक सर्जन, चार मेडिकल अधिकृतसहित ६५ जना जनशक्ति कार्यरत छन् ।

जिल्लामा अत्याधुनिक उपकरण प्रयोग गरेर शल्यक्रिया र उपचार गर्र्दै आएको उनको भनाइ छ । विसं २०३८ माघ १४ गते जन्मेका लामिछाने आफ्नो चार दशकको उमेरमा जे गरे आउँदा दिनमा थप सेवा दिने गरी अस्पतालको सञ्चालन गर्ने तयारीमा छन् । अस्पताल दर्ता गरेकै वर्ष विवाह गरेको भए पनि श्रीमती डा बिएम खरेलको दुई वर्ष अघि निधन भएपछि पारिवारिक समस्यामा रहेका उनी अबका दिनमा थप ऊर्जाका साथ काममा जुट्ने तयारीमा छन् । उनले भने , “ट्रमा क्षेत्रमा मोफसलको उत्कृष्ट अस्पताल बनाउने तयारीमा छु ।” सबै बिरामी काठमाडौँ पुग्दा धेरैले दुःख पाएको र कतिपयको बाटोमै निधन हुने गरेको भन्दै उनले समयमै उपचार गर्न सक्दा धेरैको ज्यान बचाउन सकिने बताउछन् ।

पूर्व–पश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडक र भित्री सडकमा हुने दुर्घटनाका घाइते उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । यसरी आएका घाइते ७५ प्रतिशत हाराहारी बीमाका हुने गर्दछन् । सकेसम्म कम खर्चमा उपचार गराउने गरी आफूले उपचार गर्दै आएको उनि बताउछन् । घाँटीभन्दा तल छातीबाहेकका सम्पूर्ण अर्थाेपेडिक शल्यक्रिया आफूहरुले गर्दै आएको उनले जानकारी दिए । युवा र आर्थिक अवस्था मध्यम हुँदै गर्दा पनि बिरामी ठीक पार्न सक्छु भन्ने अठोटका कारण अस्पताललाई सफलता मिलेको उनि बताउछन् । धेरै चिकित्सक राजधानी केन्द्रित हुँदै गर्दा आफ्नो सीप मोफसलमा लगाउन सकेमा धेरैको विश्वास जित्न सकिन्छ भन्ने उदाहरण डा लामिछानेले प्रस्तुत गरेका छन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्