कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्याएको छ ।

बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये बाढीका कारण १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको छ ।

सबैभन्दा बढी धानखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले जानकारी दिएका छन् । उनका अनुसार धानखेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ । “लामो समयसम्म पानी पर्दा खेतमा काटेर राखिएको धानमा समेत क्षति पुग्यो”, उनले भने , “पूरै धान उम्रिएर कामै नलाग्ने भएपछि किसान बिचल्लीमा परेका छन ।”

केन्द्रका अनुसार किसानले महँगोमा खरिद गरिएको आलुबाली रोपेर सकेका मात्रै थिए । त्यसै बेला आएको निरन्तरको पानीले पूरै खेतबारी डुवानमा पार्दा आलुबालीमा निकै ठूलो क्षति पुग्यो । रोपेका आलुका दाना सबै कुहिएपछि उम्रन पाएनन् । आलु बालीमा रु ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको छ । आलुखेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको छ ।

तरकारी बालीमा रु ५८ लाख ६४ हजारको क्षति पुगेको छ । तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्नका लागि तयार हुँदै गरेका बेला परेको पानीले तरकारीखेती लगाउने दुई हजार ६५० हेक्टरमध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको अधिकृत मल्ले बताए । उनका अनुसार तोरीबाली उम्रने क्रममै रहेका बेला परेको पानीले रु दुई करोड ६२ लाखको क्षति भएको छ । खेती हुने आठ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको छ ।

निरन्तरको पानीसँगै आएको हावाहुरीले केराका बोट ढाल्दा किसानलाई निकै ठूलो क्षति भएको छ । केराखेतीमा रु दुई करोड ७७ लाख २० हजार बराबरको क्षति पुगेको छ । केराखेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको केन्द्रले जनाएको छ । त्यस्तै हावाहुरीले उखुका बोट ढल्दा रु एक करोड ५७ लाख ५० हजारको क्षति भएको छ । उखुखेती हुने पाँच हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको बताइएको छ ।

क्षतिको विवरण कृषि ज्ञान केन्द्रका कर्मचारीले फिल्ड अनुगमन गरी र स्थानीय तहका कृषि शाखाका प्रमुख, कृषि प्राविधिक, किसानसँग सम्पर्क गरी सङ्कलन गरिएको हो । बालीनालीमा क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिनका लागि स्थानीय तहले स्थलगत रुपमा कर्मचारी र जनप्रतिनिधिको टोली खटाइ क्षतिको विवरण सङ्कलन गर्ने कार्यसँगै फाराम भर्ने कार्य गरेका छन् ।

स्थानीय तहले क्षतिको विवरण फर्मेट अनुसार भरेर आएपछि कम्पाईल गरी एकमुष्ट रुपमा सम्बन्धित निकायमा क्षतिपूर्तिका लागि पठाइने कृषि ज्ञान केन्द्रले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्