उपभोक्ता ठगी गर्नेविरुद्ध मुद्दा दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ता ठगी गर्ने छ कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा उपभोक्ता ठगी गर्ने मूलपानीस्थित जी एण्ड जी हार्डवेयर, कालीमाटीस्थित एच आर ट्रेड लिङ्क, नुवाकोटस्थित वनदेवी आयल स्टोर्स, बालाजुस्थित राजेश हार्डवेर र दुईवटा ट्याक्सी चालक विरुद्ध मुद्दा दर्ता गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालू आर्थिक वर्षमा चार एकल अनुगमन तथा १२ संयुक्त अनुगमनका क्रममा ठगी गर्ने छ ।कम्पनीविरुद्ध मुद्दा दायर गरिएकोे जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा ६८ फर्ममा एकल तथा संयुक्त अनुगमन गरेको थियो ।

जी एण्ड जी हार्डवेयरले तौलने यन्त्रको जाँच अनुमति नलिएको र त्यहाँबाट बिक्रिवितरण हुँदै आएको ओम सिमेन्ट नापजाँचका क्रममा घटी पाइएकाले एक वर्ष कैद र रु १० हजार जरिवना माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ । एच आर ट्रेड लिङ्कले चामलका ८० बोरा नापजाँचका क्रममा औषत तौलमा घटी भएको र तौलने यन्त्र जाँच अनुमति नलिएको भन्दै एक वर्ष कैद सजाय र रु १० हजार जरिवनाको माग गर्दै मुद्दा दायर गरिएकोे कार्यालयले जनाएको छ ।

यस्तै वनदेवी आयल स्टोर्सले पेट्रोल तथा डिजेल पम्पमा लगाएको सिल छिनाएकाले तीन वर्ष कैद सजाय र रु ३० हजार जरिवना, राजेश हार्डवेयरले घटी तौल गरेर सामान बिक्री गरेकाले एक वर्ष कैद र रु १० हजार जरिवनाको माग मुद्दा दायर गरिएको सूचना अधिकारी पुडासैनीले बताउनुभयो । राजेश हार्डवेयरलाई वाणिज्य विभागले यसअघि नै रु दुई लाख जरिवना गरेको थियो ।

यसैगरी बा १ ज ८८८१ नं को ट्याक्सीको बिग्रेको मिटर जानीजानी सञ्चालन गरेकाले त्यसका चालकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवना तथा बा १ ज ४४७९ नं को ट्याक्सीले दिउँसोको समयमा डेडी भाडा लिएकाले त्यसका चालकलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको जनाइएको छ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र डेडी भाडा लिन पाइन्छ ।

उक्त कार्यालयले दसैँका बेला बजार अनुगमन गर्दा चार कम्पनीले ठगी गरेको जनाएको छ । सूर्यविनायकस्थित चम्पकेश्वर हार्डवेर, भक्तपुरस्थित सेल्सवेरी, भक्तपुरस्थित चण्डेश्वरी डेरी एण्ड स्वीट हाउस र डेली ग्रोसरीले ठगी गरेकाले ती कम्पनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको सूचना अधिकारी पुडासैनीले जानकारी दिए ।

कार्यालयका प्रमुख मनिषकुमार दासले जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीस्वरुप मुद्दा दायर गरेको बताए । “आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउछौँ,” उनले भने । सो कार्यालयले चालू आर्थिक वर्षको भदौ असोज महिनामा जरिवानाबाट रु ४४ लाख २२ हजार १८३ राजस्वसमेत सङ्कलन गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्