‘हुनेले नहुनेलाई न्यायो कपडा सहयोग गरौँ’

Ad
  • कालोपाटी सम्बाददाता

झापा ।  विपन्नलाई निःशुल्क न्यानो कपडा उपलब्ध गराउन मेचीनगरका १७ वर्षीय किशोर सिर्जन ढुङ्गानाले प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएका छन् ।

मेचीनगर– १० को धुलावारी चोकमा राखिएका कक्षमा महिला, पुरुष र बालबालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन् । कक्षबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारले छानेर लैजान पाउँछन् । विर्तामोडस्थित वाल्मिकी कलेजमा व्यवस्थापन सङ्कायमा कक्षा १२ को परीक्षा दिएका उनले भने “ हुनेले नहुनेलाई सहयोग गर्न यो कक्ष सञ्चालनमा ल्याएको हुँ । ”
पढाइबाट फुर्सद भएको समयको उपयोग गर्दै गाउँघरबाट लगाउन मिल्ने कपडा सङ्कलन गरेर नहुने व्यक्तिका लागि निःशुल्क वितरणको व्यवस्था मिलाएको उनले बताए । “जाडो मौसममा गरीव आमाबुबा झुपडी बस्ती र सडकमा काप्दै हिँडिरहेको देख्दा सहयोग गर्नुपर्छ भन्ने लाग्यो”, उनले अभियान सुरु गर्नुको कारण बताउँदै भने , “अनि मैले पुराना तर लगाउन मिल्ने कपडा सङ्कलन गर्न थालेको हुँ ।”

अभियान १०० दिन सञ्चालन गर्ने र पुराना कपडाको पुनः उपयोगले पर्यावरण स्वच्छ राख्नसमेत सघाउ पुग्ने उनले जानकारी दिए । यही कात्तिक २५ गतेदेखि निःशुल्क कपडाको कक्ष राखिएको हो । हालसम्म दुई बोरा जति कपडा विपन्न तथा सडक मानवले खुसी हुँदै लगिसकेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टल राखिएको र दातालाई पुराना लगाउन मिल्ने कपडा उपलब्ध गराउन आह्वान गरेपछि धेरै व्यक्तिले कक्षसम्मै कपडा पुयाउन आउने गरेको बताए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कक्षमै आएर थुप्रै कपडा प्रदान गरेका र धुलाबारीको ट्राफिक प्रहरी बिटले कक्षका हेरचाहमा सहयोग पुर्याएको उनले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्