न्याय क्षेत्रमा बढ्दैछ महिलाको आकर्षण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राज्यका प्रत्येक निकायमा महिला सहभागिता ३३ हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको सङ्ख्या न्यून रहेको छ ।

समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको करिब १५ वर्ष पुगेको छ । अहिलेसम्म पनि व्यवस्थापिकाबाहेक कार्यपालिका र न्यायपालिकामा महिलाको समानुपातिक र समावेशिताको सिद्धान्तअनुरुप महिला हक सुनिश्चितता भने भएको देखिँदैन ।

कानुन व्यवसाय गर्नका लागि अनुमति दिने संस्था नेपाल कानुन व्यवसायी परिषद्को २०७८ साल कात्तिक १६ गतेसम्मको तथ्याङ्कअनुसार कानुन व्यवसायीको प्रमाणपत्र लिएका कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्ता कूल ४४८ रहेका छन् । यसमध्ये महिला २८ जना छन् । त्यो भनेको ६।२५ प्रतिशत हो । त्यस्तै, पुरुष ४२० रहेका छन् । अधिवक्ताहरु कूल १८ हजार ९५१ मध्ये महिला दुई हजार ९६४ रहेका छन् । यो सङ्ख्या १५।६४ प्रतिशत हो । पुरुष १५ हजार ९८७ रहेका छन् ।

त्यसअघिको परिषद्को तथ्याङ्कलाई हेर्दा २०६० सालमा महिला कानुन व्यवसायीको सङ्ख्या ६८२ थियो । त्यो सङ्ख्या विसं २०७० मा आउँदा एक हजार ४१६ पुगेको देखिन्छ । हाल महिलाको सङ्ख्या बढेर दुई हजार ९६४ पुगेको छ । यसरी हेर्दा कानुन व्यवसायीमा महिलाको आकर्षण बढ्दै गएको देखिन्छ । नेपालका प्रथम कानुन व्यवसायी शान्तिदेवी थापा छन् । उनले अभिकर्ताका रुपमा काम गरेकि थिइन् । नेपालको प्रथम अधिवक्ता, वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालतको न्यायाधीश सुशीला सिंह शिलु थिइन् ।

न्याय क्षेत्रमा प्रवेश गर्ने ढोकाका रुपमा नेपाल कानुन व्यवसायी परिषद्को प्रमाणपत्र लिने महिलाको सङ्ख्या १६ प्रतिशत पुगेबाट पनि न्याय क्षेत्रमा महिलाको आकर्षण बढ्दै गएको देखिन्छ । विगतमा भन्दा अहिले न्यायमा आकर्षण बढ्दै गएको छ भने आगामी दिनमा अझ महिला सहभागिता बढ्ने वरिष्ठ अविधक्ता उषा मल्ल पाठकको बुझाइ छ ।

“न्याय क्षेत्रमा महिला सहभागिता कम छ, राज्यको अरू निकायमा पनि ३३ प्रतिशत नै त छैन, व्यवस्थापिकका संसद्मा मात्र हो,” उनले भने , “न्याय क्षेत्रमा महिला सहभागित कम नै छ, जिल्ला अदालतमा परीक्षा दिएर आउन सक्ने संवैधानिक व्यवस्था छ, महिलालाई आउन बाटो खुलेको छ ।”

न्याय सेवामा अलि बढी मेहनत गर्न जरुरी पर्छ । नयाँ आउने पुस्ताहरुको आकर्षण न्यायमा राम्रो छ । आगामी दिनमा राम्रो सहभागिता हुने देखिन्छ । कलेज पढ्दादेखि नै महिलालाई न्यायमा प्रोत्साहन गर्नुपर्ने देखिन्छ । “महिला काममा प्रतिबद्ध हुन्छन्, न्यायमा महिलाले भ्रष्टाचार गरेको आजसम्म सुनिएको छैन,” वरिष्ठ अविधक्ता पाठकले थपे “न्याय क्षेत्रमा गएर कमाउँछु, भ्रष्टाचार गरेर पनि कमाउँछु भनेर महिला आएको देखिएको छैन, बरु क्षमतामा कमी छ भन्ने कहीँकहीँ सुनिन्छ ।”

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्