बन्दका कारण निम्न आय भएकालाई समस्या

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वीर अस्पतालमा आफन्तलाई भर्ना गरेकाले रणबहादुर तामाङ आज बिहान खाना लिएर बिहान ११ बजे चुच्चेपाटीस्थित घरबाट निस्कीए । राजधानीमा सार्वजनिक यातायातमै यात्रा गर्दै आएका उनले करिब एक घण्टा कुर्दा पनि रत्नपार्क क्षेत्रमा आउने सवारी पाउन सकेनन्

सोमबारसम्म कसैको बन्द भन्ने नसुनेका रणबहादुरजस्ता धेरै मानिस आज सडकमा निस्केपछि सवारी नपाएर अलमल परे । घण्टौँ सवारी कुर्दा पनि गन्तव्यमा पुग्न सकेनन् । कसले र किन बन्द गरेको भन्ने थाहा नपाइ अत्यावश्यक काम निस्किएका धेरै मानिस निरन्तर भइरहने यस्ता बन्दले दुःख पाउँदै आएका छन् ।

बन्द गर्दैमा माग पूरा नहुने भए पनि लामो समयदेखि नेपालमा विरोधका लागि सार्वजनिक यातायात बन्द नै मुख्य अस्त्र बन्दै आएको छ । जसका कारण समस्यामा सामान्य मानिस पर्ने गरेका छन् । निजी सवारी चलेपनि सार्वजनिक यातायात फाट्टफुट्टमात्र चलेको छ । थोरै चलेका सार्वजनिक यातायात पनि गन्तव्यसम्म चलेका छैनन् । चुच्चेपाटीबाट वीर अस्पताल आइपुग्न रणबहादुरले तीन वटा सवारी चढ्नु परेको बताए । एउटाले मित्रपार्क, अर्कोले पुरानो बानेश्वर र तेस्रो सवारीबाट मात्र आफू गन्तव्यसम्म पुग्न सफल भएको उनले सुनाए ।

जोखिम कम भए पनि कोरोना महामारी कायमै रहेकाले काम नपरी नहिँड्ने धेरै मानिसले आज काममा निस्कनुपर्दा सवारीकै कारण समस्या भोगेका छन् । विरोधका लागि बन्दको विकल्पका रुपमा अन्य रचनात्मक कार्यक्रम अघि सार्न सुझाव दिन्छन् नयाँ बानेश्वरका ज्ञानेन्द्र श्रेष्ठ । रचनात्मक रुपमा नयाँ शैलीबाट विरोध गर्दा सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गर्न सकिने उनको भनाइ छ ।

एक दिनको विरोधले निम्न आय भएका र काम गरेरै बिहान बेलुकाको हातमुख जोड्नुपर्नेका लागि समस्या हुने गरेको छ । यस्तै वर्गलाई समस्यामा पार्ने गरी बन्द कार्यक्रम राख्नुको उद्देश्य प्रष्ट नहुने गरेको कीर्तिपुरकी रमिला महर्जनले बताए । उच्च वर्गकालाई महिनौ बन्द गरिदिए पनि कुनै समस्या नभए पनि काम गरेर जीविकोपार्जन गर्नेका लागि भने सास्ती हुने गरेको छ । बन्द भएपछि ज्याला गरेर खानेले काम गर्ने अवसरसमेत पाउँदैनन् ।

बन्द कर्ताले सामान्य मानिसका यस्ता समस्यामा ध्यान दिनुपर्ने उनीहरुको माग छ । सबैले गरिखान पाउने गरी विरोधका कार्यक्रम गर्ने गरी रचनात्मक सोच अघि सार्न निम्न आय भएका वर्गको माग छ ।- रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्