भवन भाँसिएपछि खेतमै पढाइ

Ad
  • कालोपाटी सम्बाददाता

बझाङ । विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ।

अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिँएको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए । उक्त विद्यालय २०५४ मा स्थापना भएको हो । हाल विद्यालयमा छात्रछात्रा गरी १७४ विद्यार्थी अध्ययनरत छन् ।

“पठनपाठन बन्द गर्नुपर्ने अवस्था आयो, पढाइको वैकल्पिक उपायका लागि जिल्ला रेडक्र्स सोसाइटीसँग त्रिपाल माग्न चैनपुर गए”, प्रधानाध्यापक जोशीले भने , “रेडक्रसका पदाधिकारीले त्रिपाल दिन सकिँदैन भने , रित्तै फर्किए ।”

विद्यालयको शौचालयसमेत पहिरोले पुरिएको छ । विद्यार्थी खुला रुपमा शौचालय गर्दैआएका छन् । जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर सिंहले चाँडै विद्यालय भवन निर्माण गर्ने बताए । नयाँ भवन निर्माणको बजेटबारे भने सिंह अनविज्ञ छन् ।

बेताल आधारभूत प्राथमिक विद्यालयकै जस्तै खप्तडछान्ना गाउँपालिकामा–१ खाती गाउँस्थित जगदम्बा निमावीको आठ कोठे पक्की भवन पनि बाढीले बगाएपछि पठनपाठन खुल्ला चौरमा गर्नुपरिरहेको छ । प्रधानाध्यापक लालबहादुर खत्रीका अनुसार हाल १६० विद्यार्थी चौरमा पढ्ने गरेका छन् । “घाम लागेका बेला मात्र नियमित पढाइ हुन्छ”, उनले भने , “घाम नलागे जाडोका कारण पढाइ बन्द हुन्छ ।”

वर्षाका कारण बाढीपहिरोले जिल्लाभरी ६५ विद्यालयमा आशिंक क्षति भएको छ । दुई विद्यालयमा पूर्णरुपमा क्षति पुगेको सामाजिक विकास कार्यालयका प्रमुख वीरबहादुर धामीले जानकारी दिए । भौतिक संरचनातर्फ रु १० करोड ८१ लाख बराबरको क्षति भएको छ । – रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्