बडिगाडमा परम्परागत न्वागी मेला

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा यही मङ्सिर ५ देखि ८ गतेसम्म परम्परागत न्वागी मेला लाग्दैछ । कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि त्यस क्षेत्रमा न्वागी खाने प्रचलन सुरु भएको कथन छ ।

सोही परम्पराको झल्को दिने गरी वर्षेनी त्यहाँ न्वागी मेलाको आयोजना गरिँदै आएको छ । गत वर्ष कोभिड–१९ का कारण रोकिएको मेलालाई यसपालिदेखि निरन्तरता दिइएको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए ।

बागलुङ र गुल्मीको सीमामा पर्ने पौँदी क्षेत्रका बासिन्दाले न्वागीलाई पर्वकै रूपमा लिन्छन् । पहिले–पहिले त्यस क्षेत्रकै ठूला मेलाका रूपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो । पछिल्लो समय न्वागी मेलाको स्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझै पनि मौलिकता जोगाउन लागिपरेका छन् ।

धानबाली भित्र्याएपछि मनाइने त्यस पर्वमा चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने चलन छ । यस वर्ष आउँदो आइतबारलाई न्वागी खानका लागि शुभमूर्हत परेको सचिव आचार्यले बताए । न्वागीको शुभसाइत ज्योतिषले निकाल्ने गर्छन् । सोही दिनदेखि मेला पनि सुरु हुन्छ ।

स्थानीयवासीका अनुसार तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए । छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ ।

पछि सबै गाउँलेले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन् । पौँदी क्षेत्रमा अहिले पनि न्वागी खाने परम्परा कायमै छ । आफन्त, इष्टमित्रलाई समेत निम्ता गरेर न्वागी खुवाउने चलन रहेको सचिव आचार्यको भनाइ छ । न्वागी मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ ।

मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा गाउँपालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि राखिएको छ । पुरुषतर्फ पहिलो हुनेले रु एक लाख पाँच हजार ५५५ र दोस्रो हुनेले रु ६६ हजार ६६६ पुरस्कार पाउने प्रतियोगिताका संयोजक राजन पाइजाले जानकारी दिए ।

यस्तै महिला भलिबलमा पहिलोलाई रु ४४ हजार ४४४ र दोस्रोलाई रु ३३ हजार ३३३ पुरस्कारको प्रबन्ध गरिएको छ । मेलामा एकल तथा समूहगत नृत्य प्रतियोगितासहित कलाकारहरुको साङ्गीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्