एमाले महाधिवेशन मतदानकै दिन मतपरिणाम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ ।

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छौँ , उनले भने , “बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ ।”

आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए ।

‘राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । “मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छौँ ”, उनले भने “मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ ।” निर्वाचन लागि ९० उपकरणको प्रयोग गर्ने छ । महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।

आयोगका अध्यक्ष डा सुब्बाले महाधिवेशनस्थलमा तीन उपकरणबाट नमूना मतदान गराइने बताए । राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामा नै मतपरिणाम घोषणा गर्ने जानकारीदिनुभयो । “हामीले चितवनमा मतदानस्थल पनि हेरेर आइसकेका छौँ”, उनले भने , “ १२ गते बिहान ८ बजेदेखि मतदान सुरु भएर साँझ ६ बजेसम्म सक्ने हाम्रो तयारी रहेको छ । अनि मतदान सकेको चार घण्टामा नै हामीले मतपरिमाण घोषणा गर्दछौँ ।“महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौँ”, उनले भने , “महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछौँ ।”

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५-१५ गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती उपकरणमा रहने छन् । “जम्मा ४८ पदका लागि करिब ५०० उम्मेदवार हुने हाम्रो अनुमान रहेको छ”, निर्देशक रिमालले भने , “सोहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जना प्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।”

निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको जानकारीदिए । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्