कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

Ad
  • कालोपाटी सम्बाददाता

मान्म । कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला दन्त उपचार सेवा सुरु नहुँदा बिरामीले जानकारी नपाएका कारण छिटपुट मात्र दाँतका बिरामी आउने गरेकामा अहिले दैनिक १५ जनाका दरले दन्त उपचार सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।

दाँतका बिरामीले दैनिक सेवा लिनेको सङ्ख्या वृद्धि भइरहेको दन्त सेवा विभागका प्रमुख डा रोहित गुरुङले बताउनुभयो । “आगामी दिनमा थप एक चिकित्सक आवश्यक रहेको छ”, उनले भने , “बिरामीको चाप पनि बढ्दै गएको छ ।” अस्पतालले दन्त उपचार सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा रत्नवीर सुनारले बताए ।

“अस्पतालमा दाँतको सेवा लिनेको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ”, उनले भने । अस्पतालमा हाल दाँत निकाल्ने, भर्ने, आरसिटी गर्ने, सफा गर्नेजस्ता उपचार सेवा दिइएको छ । आगामी दिनमा दाँत फेर्ने सेवा पनि सञ्चालन गर्ने डा सुनारले बताए ।

कालीकोटमा दन्त उपचार सेवा नहुँदा दाँतका बिरामीले उपचारका लागि सुर्खेत नेपालगञ्जलगायत सुविधा सम्पन्न सहरमा जानुपर्ने बाध्यता हटेको खाँडाचक्र नगरपालिका–२ का बिर्ख विकले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्