मुस्ताङमा स्याउ उत्पादन बढ्यो

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ ।

“क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो”, उनले भने , “पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।” मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले रु ५५ करोड भित्र्याएका छन् । प्रतिकिलो रु १०० का दरले स्याउ बिक्री भएको थियो ।

मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।

यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । अस्सी प्रतिशत स्याउ दसैं–तिहारमा जिल्ला बाहिरिएको थियो । बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा बिक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ ।

मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्