इलाका प्रशासनबाट सेवा लिन निकै सास्ती

Ad
  • कालोपाटी सम्बाददाता

भजनी । जानकी गाउँपालिका–२ बडरियाका प्रयाकराज जोशी बुहारीको नागरिकता बनाउनका लागि दुई दिन इलाका प्रशासन कार्यालयमा धाइसक्दा पनि काम भएको छैन । वडा कार्यालयबाट नागरिकताको सिफारिस ल्याएर आएनुभएका ६५ वर्षीय उनलाई प्रशासनमा सेवाग्राहीको भिड छिचोल्न निकै मुस्किल भयो । जोशीलाई पहिलो दिन प्रशासन बाहिरको भिड छिचोलेर नागरिकता फाँट पुग्दैमा समय सकियो भने आइतबार पनि उनको काम भएन । “बिहान ६ बजे आएर लाइनमा बसेको हुँ । पालो कुर्दै दिन बित्यो, पालो आएन ।” उनले भने , “बाहिर बस्नका लागि ठाउँ छैन । शौच लागे शौचालय छैन । पिउने पानी छैन । आपत्मा काम गर्नुपर्ने बाध्यता छ ।” जोशीले प्रशासन बाहिर सेवाग्राहीलाई प्रतीक्षाका लागि ठाउँ नहुँदा महिला, तथा ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको बताए ।

भजनी नगरपालिका–१ निवासी सुनिता रोकाया छ महिनाको बच्चालाई काखमा च्यापेर नागरिकता बनाउन शुक्रबार नै कार्यालय पुगेका थिए । शुक्रबार काम नभएपछि उनी त्यही बच्चालाई काखमा च्यापेर फेरी आइतबार बिहान ७ बजे कर्यालय पुगेका हुन् । “एकातिर काम समयमा नहुँदा सास्ती छ भने, अर्को बच्चालाई स्तनपान गराउने ठाउँ पनि छैन । बच्चालाई दूध खुवाउन निकै अप्ठ्यारो भएको छ”, सुनिताले भनिन् , “तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता छ । प्रशासनमा काम प¥यो भनेपछि पहिलेदेखि नै चिन्ता लाग्छ ।”

सोही वडा निवासी विमला विकको समस्या पनि त्यस्तै छ । उनि पनि आठ महिनाको छोरा बोकेर कार्यालय आउएका थिए । प्रशासनले भजनी नगरपालिकाका सेवाग्राहीका लागि दुई दिन काम गर्छ । शुक्रबार र आइतबार मात्रै काम हुने भएपछि टाढाबाट सेवा लिन आउँदा निकै समस्या भएको उनको गुनासो थियो । विमलाले सबै काम वडा तहबाटै हुने भए पनि नागरिकताका लागि सेवाग्राहीले विगतदेखि नै भोग्नुपरेको सास्ती अन्त्य हुन नसकेको बताए ।

“खाना र पानी नभनेर प्रशासनमा पालो कुरेर बस्नुपर्ने बाध्यता छ । आसपासमा केही खानेकुरा पनि पाइँदैन । बजार पुगेर केही खाएर आउँदासम्म काम हुँदैन कि भन्ने चिन्ता हुन्छ ।” उनले भने , “सिंहदरबार गाउँगाउँमा आयो भन्छन्, हामी सेवाग्राहीका लागि त्यसको कुनै महसुस हुनसकेको छैन ।”

सोही नगरपालिकाको वडा नं ३ का ७५ वर्षीय भागीराम महतो तिहार अघिदेखि नै प्रशासन धाउन थालेका हो । स्थानीय तहको संरचना भएपछि वडा नं ४ मा रहेको उहाँको घर अहिले वडा नं ३ मा परेको छ । नागरिकतामा वडाको ठेगाना सच्याउन प्रशासन पुग्नुभएका भागिरामको काम महिना दिन बितिसक्दा पनि भएको छैन । “तिहारपछि हुन्छ त्यसपछि आउनु भनेका थिए । अहिलेसम्म भएको छैन । म बुढो मान्छे पैदल भएर भजनीबाट टीकापुर पुग्न निकै कठिन छ ।” उनले भने , “राति ३ बजे घरबाट हिँडेको थिए । खाना पानी केही खान पाएको छैन । काम पनि भएको छैन । भित्र कार्यालय पुग्न म बुढोको तागत पुग्दैन ।” भगिरामले सधैँ आउने र केही नबुझेरै घर फर्किनुपरेको गुनासो गरे ।

इलाका प्रशासन कार्यालयमा सेवा लिन आउने यी सेवाग्राही एक उदाहरण मात्रै हुन् । अधिकांश सेवाग्राहीको काम एकै दिनमा हुँदैन । प्रशासनले कोरोना कालमा लगाएको बारअनुसारको तालिका पनि अझै हटाएको छैन ।

कार्यालयका प्रशासकीय अधिकृत महेशबहादुर बमले कार्यालयमा कर्मचारीको दरबन्दी कम र सेवाग्राही धेरै भएपछि सेवा प्रवाहमा निकै समस्या भएको बताए । अहिले कार्यालयमा दुई नायब सुब्बा, एक खरिदार, एक अधिकृत, एक कम्प्युटर अपरेटर, तीन कार्यालय सहयोगी र एक उपसचिवको दरबन्दी छ । अहिले उपसचिवबाहेकका सबै फाँटमा कर्मचारी छन् । उनले सेवाग्राहीको भिडलाई कम गर्न अझ एक प्रशासकीय अधिकृत, एक नायब सुब्बा, एक खरिदार र एक कम्प्युटर अपरेटरको दरबन्दी थाप गर्नुपर्ने देखिएको बताए ।

“सेवाग्राहीहरु कार्यालयमा राति ३ बजेदेखि नै आएर लाइन लागेका हुन्छन् । प्रशासनको भिडभाड सम्हाल्नै मुस्किल छ । कर्मचारी कम छौँ । सेवाग्राही धेरै छन् । त्यसमा पनि भाडामा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा कार्यालय परिसरमा खाली ठाउँ छैन ।” प्रशासकीय अधिकृत बमले भने , “अहिले राष्ट्रिय परिचयपत्रका लागि नागरिकता बनाउन आउने सेवाग्राहीको अत्याधिक भिड भएको हो । नत्र नियन्त्रणभन्दा बाहिर जानेगरी यस्तो भिडभाड त हुँदैनथ्यो ।” उनले शनिबार पनि शुक्रबारको बाँकी काम गर्नुपर्ने बाध्यता रहेको बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्