बागलुङले ३२ उच्च प्रविधिको हरित गृह निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । कृषिमा आधुनिकीकरण गर्ने भन्दै गत आर्थिक वर्षमा मात्रै कृषि ज्ञान केन्द्र बागलुङले ३२ उच्च प्रविधिको हरित गृह निर्माण गयो । त्योबाहेक स्थानीय तहले निर्माण गरेका र अघिल्ला आर्थिक वर्षमा निर्माण भएका हरित गृहमा किसानले तरकारी फलाइरहेका छन् ।

तरकारीसमेत आयात गरेर खानुपर्ने अवस्थामा रहेको बागलुङ अहिले तरकारी, अण्डा र दूधमा आत्मानिर्भर भइसकेको केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । यान्त्रिक हलो र कृषि उपज प्रशोधन मेसिनहरु पनि ज्ञान केन्द्रले वितरण गरिरहेको छ । किसान आधुनिक बन्दै जाँदा जैविक उत्पादन घटेको भन्दै ज्ञान केन्द्रले जैविक उत्पादनलाई पनि जोड दिँदै आएको छ । जिल्लाको निसीखोला, तमानखोला, ताराखोला र ढोरपाटन क्षेत्रमा जैविक उत्पादन संरक्षणको कार्यक्रम छ ।

जैविक खेतीलाई सघाउन कृषि विकास कार्यालयले सुरुआत गरेको प्रदर्शनीस्थल भने उपयोगविहीन थियो । साबिकको कृषि विकास कार्यालय खारेज भएपछि उपयोगविहीन भएको कृषि उत्पादन प्रदर्शनीस्थल पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा रहेको प्रदर्शनीस्थल सञ्चालनमा ल्याएर तरकारी, खाद्यबालीको उत्पादन तथा प्रदर्शन थालिएको हो ।

ज्ञान केन्द्रले जैविक उत्पादन र आधुनिक प्रविधिमा उत्पादन गर्ने विधि अपनाएर प्रदर्शनीस्थलमा तरकारी तथा खाद्यबाली लगाएको हो । ७२ वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा दुईवटा उच्च प्रविधिका हरित गृह निर्माण गरिएको छ । त्यो बाहेकको जमिनमा विभिन्न प्रजातिका तरकारी लगाइएको ज्ञान केन्द्रले जनाएको छ ।

“हामी यहाँ बीउ, मल र सिँचाइसमेतको परीक्षण गर्ने गरेका छौँ,” केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने , “यहाँको सिकाइले किसानलाई सिकाउन सहज हुन्छ ।” प्रदर्शनीस्थल पुनः सञ्चालनमा आएपछि मकै खेती लगाएको केन्द्रले अहिले गोलभेँडा लगायतका तरकारी बालीको परीक्षण गरिरहेको छ । बायोचार ९घाँसपात जलाएर बनाइने मल० उत्पादन तथा त्यसको प्रयोग प्रदर्शनीस्थलमा गरिएको छ ।

“जैविक उत्पादनको परीक्षण बढी गर्ने गरेको छौँ, सोही अनुसारको सिफारिस किसानलाई गर्छौं,” ज्ञान केन्द्रका बागबानी विकास अधिकृत कुमार पुनले भने , “उत्पादनमा लाग्ने समय, माटोको जाँच, मल, बीउ र सिँचाइ गर्दा र नगर्दा हुने उत्पादनको फरकसमेत हामी किसानलाई देखाउँछौँ ।” लामो समय खाली रहँदा जङ्गल बनेको प्रदर्शनीस्थल तरकारी बालीले सिङ्गारिएको छ । प्रदर्शनीस्थलमा केन्द्रका प्रमुखलगायत बागबानी विकास अधिकृत, बाली विकास अधिकृतहरु पुग्ने गरेका छन् । “किसान र विज्ञ सबैको सिक्ने थलो हो,” उनले भने , “अझै फराकिलो ठाउँ भए धरै परीक्षण गर्न सकिन्थ्यो ।”

उपयोगविहीन भएको प्रदर्शनीस्थलको जमिन बेलाबेलामा चर्चामा आउने गरेको थियो । कृषि विकास कार्यालय खारेज भएसँगै सदरमुकाममा रहेको प्रदर्शनीस्थलमा धेरैका आँखा गडेका थिए । ज्ञान केन्द्रले उक्त जमिन उपयोग गर्न थालेपछि प्रदर्शनीस्थलको उपयोगको विषयमा चर्चा हुन छोडेको छ ।
–रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्