खानेपानी आयोजना निर्माण

Ad
  • कालोपाटी सम्बाददाता

वाग्मती । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ स्थित टावरडाँडामा रु एक करोड छ लाख लागतको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका छन् ।जिल्ला समन्वय समितिको रु ६० लाख र सो गाउँपालिकाको रु ४६ लाखको संयुक्त लगानीमा निर्माण भएको सो आयोजनाबाट २१६ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

एक हजार ७०० मिटर टाढाबाट लिफ्टिङ्ग सिस्टमबाट टावर डाँडामा ल्याइएको सो पानी दुई लाख ४० हजारको ट्याङ्कीमा सङ्कलन गरी खानेपानी स्थानीय २१६ घरपरिवारलाई उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष विदुर हुँमागाईले जानकारी दिए ।

कृषि तथा पशुपालनको क्षेत्रका रुपमा अगाडि बढेको सो क्षेत्रमा निर्माण भएको खानेपानी आयोजना महत्वपूर्ण भएको हुँमागाईंको भनाइ छ । मकवानपुरगढी वडा नं ४ का स्थानीयवासी विश्वनाथ रिमाल र रमणीप्रसाद घिमिरेद्वारा दान गरिएको जग्गामा सो खानेपानी ट्याङ्कीलगायत पूर्वाधारको निर्माण गरिएको टावरडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष सत्रुघन दुलालले जानकारी दिए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्